कास्कीको सुरक्षा व्यवस्था सुधार्न १५ बुँदे कार्ययोजना सार्वजनिक


पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अशोक सिंहले कास्कीको सुरक्षा व्यवस्थालाई सुधार गर्न १५ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गरी उनले अपराध नियन्त्रण तथा रोकथामलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘पहिलो प्राथमिकता गुडागर्दीलाई रोक्नु हो,’ उनले भने ‘गुडागर्दी रोक्नका लागि विभिन्न चरणमा काम गर्ने छौ ।’ उनले पहिले गुडागर्दी गर्ने व्यक्तिको पहिचान गर्ने, कुन कुन अपराधमा संलग्न छ भने खोज्ने र त्यसपछि पक्राउ गरी कडा कार्बाही गर्ने बताए ।

त्यसैगरी, अवैध लागू औषध कारोबार रोकथाम नियन्त्रण गर्ने, गुण्डागर्दी नियन्त्रणमा शून्य सहनशीलता कार्यम गर्ने, चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रण गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, फरार अपराधीको खोजी र कार्बाही गर्ने उनको योजना छ । यसका साथै, आन्तरिक शुद्धीकरण, प्रविधीमैत्री प्रहरी सेवा, कार्यालयका भौतिक संरचना निर्माण, महिला हिंसा विरुद्ध अभियान लगायतका योजना रहेका छन् ।

दुई साता आगाडि कास्कीमा सरुवा भई आएका सिंहले नजिकै आउँदै गरेको चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना समेत बनाएको बताए । उनले आफू पोखरामा आएर काम थाले पछि पोखराका ११ स्थानबाट जुवा तास खेल्ने ८२ जनालाई पक्राउ गरी २० लाख ४२ हजार रुपैयाँ नगद बरामद गरेको बताए ।

सोही अवसरमा कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर ७ मा चोरी गरि भागेका ६ जना चोरहरूलाई सार्वजनिक गरेको छ । उनीहरूको साथबाट ३ तोला ५० लाल सुन, आइप्याड, आइफोन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।