निर्वाचन आयोगको सरकारलाई १७ बुँदे निर्देशन


काठमाण्डौ – निर्वाचन आयोगले असोज २ मा प्रदेश नम्बर दुई अन्तर्गतका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई व्यवस्थापन गर्न सरकारलाई १७ बुँदे निर्देशन दिएको छ । आयोगको बिहीबार बसेको बैठकले सरकारका मुख्य सचिवमार्फत सरकारलाई यस्तो निर्देशन दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले दुई नम्बर प्रदेशका ८ जल्लाका १ सय ३६ स्थानीय तह निर्वाचनको व्यवस्थापनका लागि भन्दै सरकारलाई १७ बुँदे निर्देशन दिने निर्णय गरेको हो । आगामी असोज २ हुने निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेट र जनशक्ति प्राथमिकताका साथ उपलब्ध गराउन आयोगले सरकारलाई भनेको छ । त्यस्तै आयोगले निर्वाचनमा खटिने आयोगका कर्मचारी, उम्मेद्ववार र मतदाताको समेत सुरक्षाको उचित प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचनका लागि मतदान केन्द्रको रुपमा विद्यालय भवनको प्रयोग हुने भएकाले प्रदेश नम्बर दुईका विद्यालय एक साताका लागि बन्द गर्न सरकारलाई आयोगले भनेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता सुर्यप्रसाद शर्माद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, मतपत्र छपाईमा आवश्यक परेमा सरकारी स्वामित्वको जनक शिक्षा सामाग्री केन्द्र प्रयोग गरिने भएकाले सो छापाखाना चालु अवस्थामा राख्न निर्देश गरिन्छ ।  त्यस्तै आयोगले प्रदेश नम्बर दुईका विभिन्न ८ जिल्लामा कार्यरत सरकारी निकायका कर्मचारी र शिक्षकको विवरण अद्यावधिक गरेर एक हप्ता भित्र सम्बन्धि जिल्ला निर्वाचन कार्यालयमा पठाउन सरकारलाई निर्देश गरेको छ ।