बार्सिलोना हमलाका प्रत्यक्षदर्शी नेपाली भन्छन्:-एकछिन रक्ताम्य संसार देखियो


-वसन्त रानाभाट 

बार्सिलोना/  युरोपमा आतंककारी हमलाका घटनाहरु बढिरहेका बेला स्पेनको पर्यटकीय गन्तब्य बार्सिलोना पनि अछुतो रहेन।पछिल्लो क्रममा मान्छेहरुको भिड माँझ लोरी,भ्यान वा गाडी जोताएर हमला गर्ने क्रम बढीरहदा, त्यसको पछिल्लो सिकार सुन्दर शहर बार्सिलोना बनेको छ।

बिहीबार अपरान्ह कातोलोनियाको मुटु राम्बलासमा हिडिरहेका सयौ मानिसहरु माथि एउटा सेतो भ्यान लगेर जोताइँदा हालसम्म १३ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन्। घटनामा परि अन्य ५० बढी घाईते भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

घटनामा प्रयोग भएको भ्यान भाडामा प्रयोग गरिएको स्पेनि मिडियाहरुले जनाएका छन्। प्रहरीले हमलामा प्रयोग गरिएको भ्यान भाडामा लिने पुरुषको तस्वीर पनि सार्वजनिक गरेका छन्। ति ब्यक्ति मोरक्कोमा जन्मिएका द्रिस उकाबीर भएको बताईन्छ।  हमलाको चौतर्फी निन्दा गरिएको छ।

घटनाका प्रत्यक्षदर्शी एक नेपाली यसो भन्छन्:

झन्डै एक दशक देखि स्पेन बस्दै आएका बाग्लुंग गल्कोट स्थायी घर भएका रामु चालीसे घटनास्थल नजिकै रहेको एक रेष्टुरेन्टमा  काम गर्दै आएका छन्। बिहीबार अपरान्ह अर्डर गरेको खाना ग्राहक समक्ष पुर्याएर रेष्टुरेन्ट फर्कदै गर्दा यस्तो भएको भन्दै घटना बारे चालीसे यसो भन्छन्।

”राम्बलासमा कोलम्बसतिर बाटो कातोलोनिया तर्फ म जाँदै थिए। अर्डर भएको खाना छोडेर फर्कदै,काइया सान्ट पाउ नजिकै,एउटा सेतो भ्यान सडक तिर गुड्न छोडेर,मान्छे हिड्ने फराकिलो बाटो तिर बढेको देखे। किन यसो गरेको होला भनेर एक छिन् वाल्ल परे तर कतै तिर मोड्ने होला भन्ने ठानेर चासो नराखी अगाडि बढे। तर त्यसको केहि सेकेण्डमा नै ठुलो हल्लाखल्ला सुनियो। मान्छेहरु चिच्याउन थाले, रुवाबासी चल्यो। मैले फर्केर हेर्दा मान्छेहरु सबै लडेका थिए,कोही भागाभाग गर्दै थिए।डोजर लगाए जस्तै गरी सयौ मान्छेहरुलाई कुल्चेर गाडी निस्कीसकेछ।

घटनाका प्रत्यक्षदर्शी एक नेपाली रामु चालिसे

आफैले चलाएको स्कुटर रोकेर घटना नजिकै आईहाले। उठ्न सक्ने मान्छेहरू भागाभाग गर्दै थिए। उठ्ने नसक्नेहरु रक्ताम्य बन्दै लडेका थिए। त्यस मध्ये भर्खरका युवतीहरु टाउकोबाट रगत बगिरहेका अबस्थामा पल्टिएका थिए।लाग्छ स्कुल वा कलेज भ्याकेसनमा बार्सिलोना घुम्नका लागि आएको हुनु पर्छ। कतिपय रगतले पोतिएका आन्फ्न्त वा परिबारलाई अंकमाल गर्दै सहयोग मागीरहेका थिए।

राम्बलासमा दुई तिर गाडी हिड्ने साना सडकहरु तर बिचमा मान्छे हिड्ने खुल्ला फराकिलो बाटो छ। त्यही भएकाले पनि आतंककारीले ठुलो भिडमा भ्यान जोताएर ठुलो नोक्सान पुर्याउने योजना बनाएको प्रष्ट देखिन्छ। दैनिक हजारौ मान्छे ओहोरदोहोर गर्ने राम्बलासमा हिड्ने बाटोमा नै थुप्रै फुल दोकान र साना- साना स्टलहरु पनि रहेका छन्। त्यहाँ प्राय: स्थानीयहरुले काम गर्ने हुँदा केहि स्पेनिसहरु पनि सिकार बनेको जस्तो लाग्छ। तर धेरैको संख्यामा पर्यटकहरु नै परे कि बन्ने मेरो अनुमान छ।

घटनास्थल नजिकै गस्तीमा रहेका केहि पुलिसहरु पनि थिए। केहि मिनेटमा त जता हेरे पनि पुलिस नै पुलिस देखिन थाले। एम्न्बुलेन्सका आबाजहरु सुनिए। सुरक्षाकर्मीले घटना पछि बरपरका पसल,क्याफे,रेष्टुरेन्टहरु सबै बन्द गराए।सबैलाई सुरक्षित गन्तब्यमा पुर्याउने र घाईतेहरुलाई अस्पताल लैजान थाले।

मेरो काम गर्ने रेष्टुरेन्ट घटनास्थलबाट नजिकै रहेकाले त्यतै तिर लागे। आफ्नो चिनजानका रहेका ५-७ जना नेपालीहरु पनि त्यतै काम गर्ने हुनाले  सम्पर्क गर्न थाले। कतिपयको साँझपख काम रहेछ त्यसैले पनि घटनाबाट जोगिए। सुने अनुसार अन्य नेपालीहरुले त्यतै बरपर काम गर्छन् तर हालसम्म हत्यस्तो हताहतको खबर भने सुनिएको छैन। अमुल्य संसारबाट धेरै सर्बसाधारणले बिदाई लिईरहेको आफ्नै आँखाले देख्नु पर्यो,धेरै ठुलो दुख र पिडा भईरहेको छ।”

सबै नेपालीहरु सुरक्षित छन् :- एनआरएनए स्पेन

बार्सिलोनामा आतंककारी हमला हुँदा गर्दा, गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको बैठक चलिरहेको थियो। देशमा बाढी पिडितहरुका लागि संकलित रकम कसरी पठाउने बारे छलफल भईरहँदा घटना घटेको हो। एनआरएन स्पेनको कार्यलयबाट नै त्यस वरपर रहेका नेपालीहरुसँग सम्पर्कको प्रयास भएको संघले जनाएको छ। लगत्तै संघका अध्यक्ष चिन्तामणी सापकोटाले घटना प्रति दुख ब्यक्त गर्दै,सबै नेपालीहरु सुरक्षित रहेको सूचना जारी गरेका छन्।

बार्सिलोनामा मात्रै  झन्डै ४ हजार नेपालीहरुको रहेको अनुमान छ। प्रमुख पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ स्थित नेपालीहरु सानासाना पसल देखि रेष्टुराहरुका काम सम्ममा ब्यस्त हुने गरेका छन्। कोहि हताहत भए,नभएको बारे बुझ्ने प्रयासलाई भने संघ संस्थाहरुले जारी राखेका छन्।  

राम्बलास किन पर्यो निशानिमा ?

राम्बलास बार्सिलोनाको एक प्रमुख सडक हो। दुवै तिर वृक्ष रोपेर बिचमा मान्छे हिड्ने पैदल स्थल बनाएकोले पनि पर्यटकहरुका नौलो र लोकप्रिय मानिन्छ। कातालोनिया सेन्टर देखि कोलोम्बस स्मारकसम्म १.२ किलोमिटरको दुरी सम्मको यो पैदल सडकमा हजारौ मानिसहरु ओहोरदोहोर गर्ने गर्छन्।

ठुलो भिडभाड भएकाले पनि लाम्बलासलाई आतंककारीले निशाना बनाएको सोझै अनुमान गर्न सकिन्छ। बिशेष गरी जुलाई र अगष्टको महिनामा बार्सिलोनामा पर्यटकहरु ठुलो संख्यामा आउँने हुँदा पनि राम्बलासमा अहिले ठुलो भिड बढेको छ।

के छ राम्बलासको ईतिहास ?

स्पेनिस एक प्रसिद्द कवि फेडेरीको गार्सियाले एक पटक भनेका थिए, “लाम्बलास दुनियाँको एउटा मात्र यस्तो सडक हो,जसलाई म कहिल्यै टुंगाउन चाहान्न।” तर आतंककारी हमलाबाट त्यही ऎतिहासिक महत्व बोकेको राम्बलासलाई सिध्याउने दुष्प्रयास गरिएको छ।

सन् १३७७ ताका नै यसको निर्माण सुरुवात मानिए पनि सन् १४४० मा आएर मात्र यो बिस्तारै सडकको रुपमा परिणत भएको थियो। त्यसको केहि शताब्दीमा नै राम्बलास बार्सिलोनाको केन्द्रको रूपमा स्थापित बन्यो। त्यसताका देखिनै यहाँ बिभिन्न चाडहरु मनाउन तथा बजारका लागि प्रयोग गरिएको ईतिहास छ।

सचेत रहौ,घटना पुन: दोहोरिन सक्छ

फ्रान्स,जर्मनी,लण्डनमा भएका आतंककारी हमलाहरु मध्ये केहि ठाउँहरुमा भने लगत्तै सोहि प्रकारका घटनाहरु दोहोरिएका थिए। बार्सिलोनामा पर्यटक आगामनको समय भएकाले पनि भिडभाड हुने स्थानहरुमा निकै सजक हुन जरुरी छ।

बिशेष गरी बिमानस्थल,भूमिगत रेलवे स्टेशन,फुटबल रंगशालामा तथा समुन्द्री किनारामा मानिसहरुको ठुलो भिड लाग्ने हुँदा यस्ता ठाउँहरुमा पुग्दा बेलैमा सजक हुन जरूरी छ। तस्बिर सौजन्य:-रामु चालिसे