बाढी, पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १ सय २८ (अपडेट)


काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानमा परी मर्नेको संख्या १ सय २८ पुगेको छ । गृहमन्त्रालयले  दिएको विवरणअनुसार बाढीपहिरोका कारण अझै ३३ जना हराइरहेका छन् भने २५ जना घाइते छन् ।

बाढी, पहिरो र डुवानबाट प्रभावितहरुको खोज उद्धार राहत वितरणको लागि स्थानीय तह, स्थानीय जनसमुदाय र सर्वसाधारण समेतको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २५ हजार तालिम प्राप्त सुरक्षाकर्मीहरु, स्थानीय प्रशासन, अन्य राष्ट्रसेवक कर्मचारीहरु परिचालित रहेको गृहले जनाएको छ ।

अहिलेसम्म १ लाख ५ हजार भन्दा बढीको उद्धार गरिएको पनि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १ लाख २० हजार केजी भन्दा वढी खाद्यान्न, औषधि, पानी लगायतका सामाग्री हेलि लिफ्ट गरी  वितरण गरिएको सरकारको भनाइ छ ।
 

सरकारले राहत वितरणको लागि नेपाली सेनाका साथै निजी क्षेत्रको हेलिकप्टरहरु पनि प्रयोग गरेको जनाएको छ ।

सेनाको तथा निजी हेलिकोप्टरबाट सप्तरीको मैनाकडरी, हनुमाननगर, तिलाठी, धनुषाको मुखियापट्टी, कमलानदी किनार, महोत्तरीको राम गोपालपुर, लोहारपट्टी, सिंगाइ सर्लाहीको सिसौड, सक्रौल, खैर्वा, मैनाथपुर, मानपुर, गडैया, बलरा, रौतहटको देवाही, गौर, बनकुल, औरैया, गंगा पिपरा, मौलापुर, माधवपुर, फतवा विजयपुर, दुधियावजार, जयकिसनपुर, श्रीराम सुगर मिल पर्साको ठोरी, चितवनको जगतपुर, बाँकेको फत्तेपुर, नरैनापुर, राप्ती पारीको विभिन्न क्षेत्र वर्दियाको गुलरिया, मगरागढी, वारवर्दिया लगायतका विभिन्न ठाँउहरुमा पटक पटक गरी उद्धार गर्नुका साथै राहत सामग्री वितरण गरिएको गृहले जनाएको छ ।

बुधबार नेपाली सेनाको एम.आइ. १७ हेलिकप्टरमार्फत जनकपुरबाट सक्रौलर वक्रौल र सिसौटमा ४र४ टन, एयर डाईनेस्टी हेलिकप्टरमार्फत रौतहटको माधवपुर, देवही, सर्लाहीको गढैया, खैरहवा र महोत्तरीको लोहारपट्टीमा एकर एक ट्रिप राहत सामाग्री पठाइएको छ । श्री एयरलाइन्समार्फत काठमाडौबाट खैरहवा सर्लाही र सिमराबाट लौकाहा, रौतहटमा राहत सामग्री पठाइएको जनाइएको छ ।

राहत रकम वितरणको लागि क्षेत्रीय प्रशासन कार्यालय, हेटौडा र १८ वटा जिल्लालाई गरी जम्मा रु ५ करोड १२ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुवानका कारण दाउन्ने, गावर, गन्दाली, शम्सेरगंज, अगैया, लोहोरे खोला पुल, रातु, जंघा, धन्सार, दुधौरा, तीन नम्वर पुल, राप्ती पुल, कठौना, दुधैला, खडक खोला पुल, वुढी खोला, गछीया, कन्काई पुलहरुमा क्षति पुगेको छ । क्षति पुगेका ती ठाउँहरुमा तत्काल मर्मत संरक्षणको कार्य गरी सडक यातायातलाई सुचारु गरिएको जनाइएको छ ।