संशोधन पारित गराउन राजपाका तीन रणनीति


काठमाण्डौ – राजपाले मंगलबार संसद्मा प्रस्तुत हुने संविधान संशोधन प्रस्ताव पारित गराउन एमालेलाई लिखित आग्रह गर्ने तयारी गरेको छ। संविधान संशोधन प्रस्ताव पारित गर्न आवश्यक ३९५ मतमध्ये अहिले २२ मत अपुग भएपछि कमल थापा नेतृत्वको राप्रपा र एमालेको समर्थन जुटाउन राजपाले औपचारिक पहल गर्न लागेको हो।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कमल थापा नेतृत्वको राप्रपा विभाजित भई पशुपतिशमशेर राणको नेतृत्वमा २२ सांसद गएपछि ३७ सांसदमध्ये थापासँग १५ सांसद मात्रै रहेका छन्। पार्टी विभाजनपछि थापाले संशोधनमा असहयोग गर्ने निर्णय गरिसकेका छन्। जसले गर्दा संशोधनका लागि दुईतिहाइ मत पुग्न २२ मत कम हुने भएको हो।

१) कमल थापालाई मनाउने

संसद्मा मंगलबार प्रस्तुत हुने सविधान संशोधन प्रस्ताव पारित गराउन राजपाले कमल थापा नेतृत्वको राप्रपालाई मनाउन प्रयत्न गर्नेछ। पार्टी विभाजित भएपछि थापा नेतृत्वको राप्रपाले संविधान संशोधनमा सहयोग नगर्ने बताएको छ। पार्टी विभाजनपछि थापासँग १५ सांसद छन्। थापालाई भेटेरै विगतको समर्थनबारे स्मरण गराउने तयारी भइरहेको राजपा महामन्त्री केशव झाको भनाइ छ।

२) एमालेलाई फकाउने

राजपा र एमालेबीच केही दिनयता सम्बन्ध बाक्लो बन्न थालेका छ। सोहीअनुसार उसलाई लिखित र मौखिक रूपमा संशोधनको पक्षमा मत दिन आग्रह गरिने राजपाका नेताहरूको भनाइ छ। २ असोजको निर्वाचनमा तालमेल गर्नेसम्मको तयारीसहित एमालेलाई संशोधनको पक्षमा ल्याउन राजपाले पहल गर्नेछ।

३) सात सांसद खोजी गर्ने

संविधान संशोधनका लागि ३९५ मत आवश्यक पर्छ। कमल थापा नेतृत्वको राप्रपाले संशोधनको विपक्षमा मत हाल्ने भनेपछि २२ मत अपुग हुन्छ र राप्रपालाई मनाउन सकिएको अवस्थामा सात मत अपुग हुन्छ। राजापा नेताहरूको भनाइमा कमल थापालाई मनाउन सकिने अवस्था छ। त्यसकारण बाँकी सात मत पुर्याउन राजपाले अन्य साना दलसँग सोमबारदेखि नै घनीभूत छलफल गर्ने भएको छ।