बाढी पहिरोबाट ३ दिनयता ५८ जनाको मृत्यु (अपडेट)


काठमाण्डौ – बाढी पहिरोबाट ३ दिनयता ५८ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ । २३ जना बेपत्ता र ३२ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । हालसम्म सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ । यस्तै, रौतहटमा ७, मोरङमा ५ तथा झापा, बाँके र सिन्धुलीमा ४/४ जनाको मृत्यु भएको छ ।
रौतहटमा बाढीले जीप बगाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । परोरा गाउँपालिकाबाट गर्भवती लिएर स्वास्थ्य चौकी जाँदै गरेको जीप राजपुर ३ मा भेलले बगाएको हो । भेलमा पर्दा परोरा ३ का चन्दनकिशोर सिह, उनकी गर्भवती श्रीमती शर्मिला, ३ बर्षीया छोरी, आमा ५४ बर्षीया सुनिता यादव, काकी ३८ बर्षीया ललिता यादव, र भाई २५ बर्षीय सरोज यादवको मृत्यु भएको मध्यक्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ । चितवनमा बाढीमा परी २ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ८ मा पम्फा खोलाले बगाउँदा स्थानीय ४३ वर्षीया गुमन कुमारी राना मगरको मृत्यु छ ।
त्यस्तै, इच्छाकामना गाउँपालिका ३ ओरेकमा बारबाङ खोलाले बगाउँदा स्थानीय २३ वर्षीय कमलबहादुर चेपाङको मृत्यु भएको छ । बाराको पसाहा खोलामा आएको बाढीमा डुबेर महागढीमाई १ बरियारपुरका नुरैन मियाँको १२ बर्षीय छोरा मैफुज मियाँको मृत्यु भएको छ । धनुषाको नगराइन नगरपालिका ४ की ११ वर्षिय दुर्गाकुमारी राउत पनि बाढी परेर मृत्यु भएको छ । यस्तै, सुर्खेतको गुर्भाकोट ६ वडाखोलीमा आज विहान पहिरो खसेर घर बगाउँदा ८३ बर्षीय गुमानसिंह बुढा, १४ बर्षका बिक्रम बुढा र १२ बर्षका सरन बुढाको मृत्यु भएको छ । यसैबीच सल्यानको खलंगाबाट दाङतर्फ गईरहेको ना ३ ख ३२३० नम्बरको बसलाई ढुङ्गाले किच्दा बसमा सवार २७ वर्षर्ीय कमल पुनको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१२ पेडागाउँकी ३३ बर्षिया निर्मला बाँठा मगरको हापुर खोलाले बगाउँदा मृत्यु भएको छ । महोत्तरीको जलेश्वर २ मा दहमा डुबेर १४ बर्षीय बिक्की ठाकुरको मृत्यु भएको छ ।