अख्तियारद्धारा कर फछ्र्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा लगेको छ ।  आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चूडामणि शर्माविरुद्ध आयोगले मुद्दा लगेको हो ।  आजको गोरखापत्र दैनिकमा खबर छ ।

मुद्दा लगिए पनि बिहीबार दर्ता हुन सकेन ।  मुद्दा शुक्रबार दर्ता हुने विशेष अदालतले जनाएको छ ।  सदस्य सचिव शर्मालाई सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा हाजिर गराउन आदेश भएको भोलिपल्टै अख्तियारले विशेषमा मुद्दा लगेको हो ।

अख्तियारले कर फस्र्योटका तीन पदाधिकारीविरुद्ध १० अर्ब ९६ करोड रुपियाँ बिगोदाबीसहित अभियोगपत्र तयार गरेको छ ।  अध्यक्ष महत र सदस्य ढकाललाई भने फरार अभियुक्तका रूपमा अभियोगपत्रमा प्रतिवादी बनाइएको छ ।
विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले मुद्दा आए पनि समय अभावका कारण दर्ता नभएको बताउनुभयो ।  श्रेष्ठले भन्नुभयो, ‘मुद्दा झन्डै साढे चार बजेतिर ल्याइयो, समय अभावका कारण दर्ता हुन सकेन, अख्तियारको टोलीलाई भोलि बिहान १० बजे बोलाइएको छ । ’

कर फछ्र्योट आयोगमा रहँदा अनियमित रूपमा कर छुट दिएको आरोप पदाधिकारीमाथि छ ।  अख्तियारले शर्मालाई जेठ १९ गते कार्यालयबाटै पक्राउ गरेको थियो ।  अध्यक्ष महत र सदस्य ढकाललाई अख्तियारमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरिएको थियो ।

अध्यक्ष र सदस्य दुवै अख्तियारमा उपस्थित नभएपछि सूचना दिनेलाई पुरस्कार दिने भन्दै अख्तियारले सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।  महत र ढकाल दुवै सम्पर्कमा छैनन् ।