प्रधानमन्त्री देउवाको पुरानो टिम भत्कँदै,पार्टी सञ्चालनमा पत्नी आरजु देउवा हाबी


काठमाडौं – जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पार्टी सभापति र चौथोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ । तर, पार्टीको मूल कमान्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कँदै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना बित्न लाग्दासमेत उनले सचिवालय र सल्लाहकार समूह बनाउन सकेका छैनन् ।

देउवाले आफ्नो सहयोगी समूह बनाउन नसक्दा राज्य र पार्टी सञ्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छन् । एक हिसाबले भन्ने हो भने प्रधानमन्त्री देउवाको प्रमुख सल्लाहकारको भूमिकामा यतिखेर उनै आरजु देखिएकी छन् । स्थानीय तहको दोस्रो चरणअन्तर्गतको निर्वाचनअन्तर्गत गृह जिल्ला डडेल्धुरामा टिकट वितरणमा पनि आरजु हाबी हुँदा कांग्रेसले त्यहाँ पराजय भोग्नुपर्यो ।

आखिर प्रधानमन्त्री शेरबहादुर देउवालाई यतिखेर कसले सहयोग गरिरहेको छ ? मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना बित्दा पनि भतिज भानु देउवा र वीरन्द्र मल्ल मात्रै उनको सहयोगीका रुपमा छन् । यद्यपि, उनीहरुलाई पनि सचिवालयको टिममा नियुक्त गरिएको छैन । प्रधानमन्त्री देउवालाई नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँणसहितको नेताले राजनीतिक विषयमा सहयोग गर्दैै आइरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।