पोखरा महानगरमा वडा अध्यक्षहरुलाई अभिमुखीकरण,२९ गते महानगर सभा हुने


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु लाई आज पोखरामा बालमैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा उप महानगरपालिका हुदै सन २०१८ भित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य सहित शुरु गरिएको अभियानमा पोखरा लेखनाथ महानगर भए पछि चुनौती थपिएको छ । आज भएको अभिमुखीकरण कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले आफुहरु हालै निर्बाचित भएर आएकोले अध्ययन गर्न बाकी रहेको बताउदै पोखरा लाई बालमैत्री नगर बनाउने कुरामा सकारात्मक रहेको बताउनु भयो ।

वडानं ५का वडा अध्यक्ष धन बहादुर नेपाली , वडानं २० अध्यक्ष सिम गुरुङ,वडान १७ का अध्यक्ष वडानं ९का अध्यक्ष लगायतले सवैले आ आफ्नो वडाको तथ्याङ प्राप्त गरेपछि काम गर्न सहज हुने बताउनु भयो । अध्यक्ष नेपालीले पोखराको पृथ्वीचोकमा रहेका सडक बालकहरुको छिटो ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । वडानं ९का वडा अध्यक्षले आफुहरु महानगरको योजनामा साथ दिन तयार रहेको बताउदै सवैले आ आफ्नो उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरबाल मञ्च पोखराका उपाध्यक्ष सासस्वत कोइरालले बालमैत्री नगर बनाउन समस्या मात्रै देखाउने भन्दा पनि समाधानका विकल्प पनि वडा अध्यक्षहरुले दिनु पर्ने बताउनु भयो । कोइरालाले २०९ जना सडक बालबालिका र १४ सय भन्दा बढि बालश्रमिक रहेको पोखरामा कुनै पनि ब्यक्ति र सस्थाको एकल प्रयासले सफल नहुने बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका स्रोत ब्यक्ति बद्री वाग्लले सहजीकरण गर्नुभएको अभिमुखीकरण कार्यक्रम ३३ वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सामुहिक अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक शाखा प्रमुख बरिष्ठ अधिकृत ओमराज पौडेलले जनप्रतिनिधिहरु आइसकेकोले अबको दिनमा काम गर्न अझ सहज हुने बताउनु भयो । पौडेलले यहि २९ गते महानगर सभा हुने बताउनु भयो ।उहाँले नीति बजेट र कार्यक्रम महानगर सभामा प्रस्तुत हुने जानकारी दिनु भएको छ ।