चलिए पोखरा अभियान अन्तर्गत पटनामा पोखराका पर्यटन व्यवसायीको अन्तरक्रिया


पटना-  भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिन विहारको राजधानी पटना आइपुगेको नेपाली पर्यटन व्यवसायीको टोलीले यहाँका पर्यटन व्यवसायी तथा संचारकर्मीसँग शनिबार अन्तरक्रिया गरेको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा यही असार १६ गतेबाट चलिए पोखरा अभियान आरम्भ भएको हो । औपचारिक रुपमा छ वर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सम्पन्न हुने छ ।

बोर्डर टाउन सेल्स मिसन नाम दिइएको अभियानमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, बोर्डका अधिकारी र संचारकर्मी गरी ३० जना सहभागी छन् । आइतबार पनि उत्तर प्रदेशको लखनउमा भ्रमण टोलीले चलिए पोखरा अभिायन अन्तर्गतका कार्यक्रम सम्पन्न गर्ने छ । गोरखपुरमा अन्तिम कार्यक्रम आयोजना गरिने छ ।

विनासकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको आयोजक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखरासम्म पर्यटकको सहज पहुँचका लागि सडक मार्गहरुको स्तारोन्नती तथा हवाई सेवा विस्तार गर्दै दिगो पर्यटनमा जोड दिने अभिप्रायलाई बल दिने उद्धेश्य पनि अभियानले बोकेको छ ।

पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई भारतीय शहरहरुमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्धेश्य रहेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । पत्रकार सम्मेलनहरु र द्विपक्षीय व्यापारिक भेटघाट (वीटुवी) कार्यक्रमका साथ प्रचारात्मक गतिविधिहरु अगाडि बढाउने योजना अभियानले समेटेको उनले बताए ।