अन्नपूर्ण गाउँपालिकालाई आर्थिक रुपमा सवल बनाउने तयारी


पोखरा – अन्नपूर्ण गाउँपालिकालाई आर्थिक रुपमा सवल बनाउँदै समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ बजेट, नीति तथा कार्यक्रम र कानून समेत निमाण गर्न योजना प्राथामिकीकरण सुरु गरिएको छ । अन्नपुर्ण गाँउपालिका क्षेत्रमा स्थायी बसोवास भई विभिन्न पेशा व्यवसायमा कृयाशिल विज्ञसँग गाँउपालिका अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष सगुन गुरुङ र कार्यालय प्रमुख खेमराज देवकोटाले संवाद, भेटघाट, अन्तरक्रिया एवम् सुझाव संकलन कार्यलाई अघि बढाएका छन् ।

 अन्नपूर्ण गाँउपालिकाको नाँगडाडामा साविक ढिकुरपोखरी, सल्यान, लुम्ले, दाङसिङ, घान्द्रुक गाविसका कृषि तथा भेटनरी सम्बद्ध प्राविधिक र अगुवा कृषकहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।       अन्तरक्रियाका सहभागीले गाँउपालिकाको समग्र विकासको लागि एक वडा, एक पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।ढिकुर पोखरी पशुसेवा केन्द्रका प्राविधिक गोबिन्दराज अधिकारीले विभिन्न पकेट क्षेत्र भित्र गर्न सकिने कृषि तथा पशुव्यसायका सम्बन्धमा सहभागीले दिएको सुझावलाई आत्मसात गर्नुपर्ने बताए ।

सहभागीले गाँउपालिका वडा नं १० र ११ घान्द्रुकमा भेडापालन, दाङसिङको उपल्लो भेग र ७ नं वडाको लुम्ले र वडा नं ४ सल्यानमा बाख्राको श्रोत केन्द्र  निर्माण, वडा नं ८ र ९ दाङसिङको तल्लो भेग, वडा नं ५ सल्यान र वडा नं १, २ र ३ ढिकुरपोखरीमा गाईभैंसी पालनको पकेट क्षेत्र बनाउनुपर्ने सहभागीको सुझव रहेको उनले जानकारी दिए ।त्यस्तै वडा नं ६ लुम्लेमा स्थानीय भैंसी संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।कार्यक्रमका अर्का सहभागि कृषि सेवाकेन्द्र ढिकुरपोखरीका प्राविधिक सहायक शशिकुमार शाहले अन्नपुर्ण गाँउपालिकामा हिमाली क्षेत्र समेत पर्नेहँुदा यस क्षेत्रमा मौसमी एवम् बेमौसमी खेतिको लागि उपयुक्त ठाँउ भएको बताउँदै कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

अन्नपुर्ण गाँउपालिका भित्र २२ वटा कृर्षि फर्म र २३ वटा पशुपालन फर्म दर्ता भई ब्यवसायिक रुपमा सञ्चालनमा आएका छन् ।कार्यक्रममा अगुवा कृषकहरू लिला सुवेदी दाङसिङ, दलबहादुर गुरुङ घान्द्रुक, बनबिरे गुरुङ, कलाधर भुगाई, सोभाखर अधिकारी लगायतले कृषि पेशामा हुने गरेका समस्या, बजार ब्यवस्थापन, राज्यको सहयोगमा कमी लगाएतका बिषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा गाँउपालिका प्रमुख युवराज कुँवरले व्यवसायिक कृषि पेशा सञ्चालनका लागि औजार र उपकरणमा अनुदान, सस्तो व्याजदरमा ऋण सुविधा, उद्यमशीलता विकासका लागि सीप प्रशिक्षण संस्थाहरूको सञ्चालन गरी पशुपालन र कृषि व्यवसायलाइ आत्मर्निभर बनाउन तर्फ लाग्ने बताए ।