मुलुकको स्वतन्त्रता कुनै पनि हालतमा डग्मगाउदैन : प्रधानसेनापति राजेन्द्र क्षत्री


काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको राष्ट्रिय एकता र अखण्डता सुरक्षित राख्ने सेनाको क्षमताबारे मुलुकलाई आश्वस्त गर्नुभएको छ । रुक्मांगद कटवाल ट्रस्टले सोमबार राजधानीमा आयोजना गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रधानसेनापति क्षत्रीले संविधानले दिएको दायित्वप्रति सेना सचेत रहेको र राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहले सुम्पिएको मुलुकको स्वतन्त्रता कुनै पनि हालतमा नडग्मगाउने आश्वासन दिनुभएको हो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

सगरमाथा आरोही पेम्बा शेर्पाले सगरमाथाको चुचुरोमा पृथ्वीनारायण शाहको फोटो, नेपालको रष्ट्रिय झन्डा र सेनाको झन्डा फहराएर फर्केपछि उहाँलगायत हिमचितुवाका रुपमा प्रख्यात आंगरिता शेर्पालगायतलाई रुक्मांगत कटवाल ट्रस्टले सम्मानित गरेको थियो । २१ पटक सगरमाथा चढेका र त्यसमध्ये १० पटक बिनाअक्सिजन आरोहण गर्न सफल शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डले प्रदान गरेका दुईवटा प्रमाणपत्र उक्त समारोहमा प्रधानसेनापति क्षेत्रीले हस्तान्तरण गर्नुभएको थियो । पूर्वप्रधानसेनापति तथा ट्रस्टका अध्यक्ष रुक्मांगद कटवालले पृथ्वीनारायण शाहले सिकाएको स्वतन्त्रता र अविभाज्यताका लागि चन्द्र-सूर्य रहेसम्म नेपाली अरिंगालको गोलो बनेर रहनुपर्ने पाठ भुल्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिला नेपाल चाहिन्छ, त्यसपछि मात्रै जात, धर्म र सम्प्रदाय आउँछन्, पृथ्वीनारायण शाहले त्यही मन्त्र नेपाली सेनालाई दिएका छन् ।’ कीर्तिमानी पर्वतारोही पेम्बा दोर्जेले देश एकीकरण गर्ने व्यक्तिलाई सगरमाथाको शिखरमा पुर्‍याउन पाउँदा खुसी लागेको सुनाउनुुभयो । सगरमाथा लैजानका लागि आफूले नेपाली सेनाका संस्थापक पृथ्वीनारायणको तस्बिर कटवालकोे सहयोगमा उपलब्ध भएको जानकारी दिनुभयो । सगरमाथामा बुद्धको मूर्ति लगेर राख्ने पनि पेम्बा नै हुनुहुन्छ ।

कीर्तिमानी आरोही पेम्बाले पृथ्वीनारायण शाहको मूर्ति पनि सगरमाथामा लैजाने रहर लागेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘गौतमबुद्ध, सगरमाथा र पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सनुहुँदैन, नेपाली सेनाको सहयोग पाएँ भने यो इच्छा पनि पूरा होला ।’ ट्रस्ट र शेर्पा सेफडर््स प्रालिले आयोजना गरेको कार्यक्रममा पेम्बालगायत आङरिता शेर्पा, प्रथम गुरुङ महिला सगरमाथा आरोही माया गुरुङ, प्रथम तामाङ महिला आरोही कान्छी माया तामाङ, गाइड आङ छिरिङ, पेम्बाछिरी शेर्पा, निमा ग्याल्जेन शेर्पा, आङकाजी शेर्पा, जाङ्बु शेर्पा, मिङ्मा छिरी शेर्पा, कामीरिता शेर्पा, आरोही फुर्बा तेन्जेन शेर्पा, गेल्जे शेर्पा, ज्ञानेन्द्रकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, पर्यटनमा योगदान पुर्‍याएका डा. गणेश गुरुङ र १५ पटकसम्म गिनिज बुकमा नाम लेखाउन सफल थानेश्वर गौतमलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।