पोखरा थिएटरको निर्माण कार्य तिव्र


राजाराम पौडेल, पोखरा – पञ्चामृत नाट्य समूहले निर्माण गर्दै गरेको पोखरा थियटरको निर्माण कार्य तिव्र गतीमा अगाडी बढेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नंं. ४ गैह्रापाटनमा निर्माण गरिन लागेको थिएटरको निर्माण कार्य आगामी भदौ महिनासम्ममा पुरा हुने थियटर निर्माण समितिका संयोजक परिवर्तनले जनाए । थियटरको मंगलबार ढलान गरिएको छ । अन्य निर्माण कार्य पनि तिव्र गतीमा अगाडी बढाइएको छ ।

काठमाण्डौको सिल्पी थियटरको मोडलमा निर्माण हुन लागेको थिएटरमा बसेर नाटक हेर्दा दर्शकले छुट्टै आनन्द प्राप्त गर्ने निर्माण पक्षको दावी छ । नयाँ थिएटरमा आगामी आश्विन महिनाबाट नाटक मञ्चन हुने संयोजक परिवर्तनले बताए । ‘भाद्र महिनामा थिएटर निर्माण सम्पन्न हुनेछ, त्यसपछि रिर्हसल सुरु गरी आश्विन महिनामा आफ्नै थिएटरमा नाटक मञ्चन गर्नेछौ’ परिवर्तनले भने ।

नाट्य समूह र पोखराका स्थानीय जग्गाधनी शंकरनाथ कोइरालाबीच १० वर्षका लागि सम्झौता भएको छ । थिएटरमा जग्गा धनी कोइरालाले पनि लगानी गरेका छन् । उनका अलावा दिलप्रसाद गुरुङ, विष्णुप्रसाद गौतम र परिवर्तनको लगानीमा थियटर बन्न लागेको हो । अत्याधुनिक सुविधा सम्पन्न थिएटरमा बसेर दुई सय जनाले एकैपटक नाटक हेर्न सक्नेछन् । थिएटरमा नाटक हेर्ने दर्शकलाई पार्किङको पर्याप्त सुविधा समेत हुनेछ ।

यसअघि पञ्चामृत नाट्य समूहले नाटक पुलिस र प्यास, मौसम हराएको देश र एक रुपैयाँ मञ्चन गरेर नाट्यप्रेमीको माया बटुली सकेको छ ।
नाटकघरको ५६ औं विश्व रंगमञ्च दिवस अवसरमा सांसद शारदा पौडेल, सांसद तथा विकास समितिका सभापति रवीन्द्र अधिकारी र सांसद तेजकुमारी पौडेलले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।