नेपालमा आयोजना हुने एपिएल टी–२० क्रिकेट सुरु नहुँदै विवादमा


काठमाण्डौ – नेपालमा पहिलोपटक आयोजना हुन लागेको एसियन प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरु नहुँदै विवादमा तानिएको छ। भारतको चण्डीगढस्थित अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताको पारदर्शितामा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता नभई कुनै पनि क्रिकेट लिग नहुने बताउँदै सिप्यानले एपिएलको नियतमै शंका गरेको छ। सिप्यानका महासचिव तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सोमबार विज्ञप्तिमार्फत एपिएलको पारदर्शितामा प्रश्न उठाएका छन्। प्रतियोगिताबाट नेपाली खेलाडीलाई कुनै फाइदा नहुने उनको दाबी छ। ‘आयोजक, टोलीका मालिक तथा आर्थिक कुराको पूर्ण जानकारी नभएकाले प्रतियोगिता पारदर्शी तबरले हुन लागेको छैन, पारदर्शी बनाउन सम्बन्धित पक्षसँग माग गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

एपिएल नेपालमा आयोजना हुनु राम्रो भए पनि नेपाली खेलाडी तथा अफिसियलको कुनै संलग्नता नहुनु निराशाजनक भएको विज्ञप्तिमा उल्लेख छ।

आइसिसीको अनुमति लिनुपर्दैन : परिषद्

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिता क्लबस्तरीय भएकाले आइसिसीको अनुमति लिन नपर्ने बताए। ‘उनीहरूले प्रतियोगिताका नाममा क्लबस्तरीय राख्न छुटाएका छन्। मैले क्लब राख्न भनिसकेको छु,’ विष्टले भने, ‘क्लब नराखे खेल सञ्चालन गर्न नदिने चेतावनी आयोजकलाई दिएको छु।’

प्रतियोगिताबाट नेपाललाई फाइदा हुने दाबी पनि विष्टको छ। ‘हामी खेल पर्यटनबाट फाइदा लिने कुरा गर्छौ,’ उनले भने, ‘एपिएलमा आउने खेलाडी, प्रशिक्षक तथा आयोजकको खर्चबाट देशलाई फाइदा पुग्छ।’ विष्टका अनुसार आयोजकले त्रिभुवन विश्वविद्यालयको मैदान प्रयोग गरेबापत हरेक दिनको २५ हजार रुपैयाँ दिने, ग्राउन्ड स्टाफलाई भत्ता दिने तथा प्रयोग भएका क्रिकेट सामम्री नेपालमै छाड्ने छन्।

नेपालको तयारीमा असर

एपिएलका कारण नेपाली यू–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षण प्रभावित हुने भएको छ। यू–१९ विश्वकप छनोटका लागि नेपालले सोमबारबाट त्रिवि मैदानमा बन्द प्रशिक्षण थालेको थियो। एपिएल पनि त्रिवि मैदानमै हुने भएकाले नेपाली टोलीको तयारी १५ दिन प्रभावित हुनेछ। राष्ट्रिय टोलीका कप्तान पारस खड्काले एपिएलका कारण यू–१९ टोलीको तयारीमा असर गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

चार खेलाडी बिके

४–२० असारसम्म हुने तय भएको एपिएलमा ६ टोलीबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगितामा श्रीलंकाका पूर्वकप्तान तिलकरत्ने दिलसानसहित चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरले भाग लिँदै छन्। नेपाल स्ट्रोम, इन्डियन स्टार्स, बंगलादेश टाइगर्स, अफगानिस्तान बुल्स, श्रीलंका लायन्स र दुबई वारियर्सले प्रतिस्पर्धा गर्नेछन्। सोमबार भएको अक्सनमार्फत नेपाल स्ट्रोममा चार नेपाली खेलाडी आबद्ध भएका छन्। युएइका स्वप्निल पटेल कप्तान रहेको नेपाल स्ट्रोममा भूपेन्द्र थापा १ लाख, सिद्धान्तराज शाही ७० हजार तथा अमरसिंह रटेउला र राजवीर सिंह समान ६० हजारमा नेपाल स्ट्रोममा बिक्री भएका छन्। परेश लोहनी आइकोनिक खेलाडीका रूपमा नेपाल स्ट्रोममा आबद्ध भएका छन्।

आइसिसीको छैन मान्यता

एपिएलका अध्यक्ष आरएस डन्डिवालले एपिएललाई आइसिसीको मान्यता नभएको स्वीकार गरेका छन्। ‘आइसिसीको मान्यता लिन हामीले प्रयास गरेका थियौँ, तर लामो प्रक्रिया लाग्ने भएकाले आइसिसीको मान्यताविना एपिएल हुन लागेको छ,’ डन्डिवालले भने, ‘तर, राष्ट्रिय खेलकुद परिषद्बाट भने आयोजना गर्न अनुमित लिएका छौँ।’

कप्तान पारसले भने आइसिसीले मान्यता नदिएका कारण प्रतियोगितामा क्रिकेट नियमको पालनामा हुनेमा शंका व्यक्त गरेका छन्। ‘एपिएल आयोजना गर्न आइसिसी तथा एसियन क्रिकेट काउन्सिल (एसिसी)ले अनुमति दिएका छैनन्,’ पारसले भनेका छन्, ‘संसारको जुनसुकै स्थानमा आयोजना हुने सबै व्यावसायिक लिगले आइसिसीको एन्टिकरप्सन कानुनको पालना गर्नुपर्छ।’