एएफसी एसियन कप फुटबलको छनौट अन्तर्गत नेपाल र यमन मंगलबार भिड्ने


काठमाडौं – नेपाल र यमन सन् २०१९ मा हुने एएफसी एसियन कप फुटबलको छनौट अन्तर्गत भोलि म‌ंगलबार भिड्दैछन् ।

छनौट चरणको पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्दैछ ।  भोलिको खेलमा  गोल नखाने रणनीतिमा नेपाल हुनेछ ।

सशस्त्र प्रहरीको हलचोक मैदानमा भोलि दिउसो ३ बजेदेखि खेल हुनेछ । खेलका लागि यमनको राष्ट्रिय टोली हिजै काठमाडौं आइसकेको छ ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान बिराज महर्जनले भने, ‘होम ग्राउण्डको फाइदा हामीले उठाउनुपर्छ, हामी जितका लागि खेल्नेछौं, यस खेल जितियो भने बाँकी खेलहरु हाम्रा लागि सहज हुनेछन् ।’

टोलीका मुख्य डिफेण्डरसमेत रहेका बिराजले रक्षापंक्तिमा सन्तुलनता अपेक्षाकृत नभएको स्वीकार गरेका छन् । ‘पुराना खेलाडीहरु चोटग्रस्त छन्, नयाँ खेलाडीहरु आएका छन्, त्यसैले केहि तालमेल बिगि्रएको छ ।’

यमनसँगको खेलअघि नेपाली टोलीले गतसाता भारतबिरुद्धको मैत्रीपूर्ण खेलमा रक्षाप्रक्तिकै कमजोरीले २ गोल खान पुगेको थियो । त्यस खेलमा कप्तान बिराजले रातो कार्डसमेत पाएका थिए । यमनसँगको खेलकाम लागि मिडफिल्डमा बिक्रम लामा र डिफेन्समा रविन श्रेष्ठको अभाव नेपाली टोलीलाई खड्किनेछ ।

नेपाली टोलीका कप्तान ग्योतोकु कोजीले लिग नहुँदा धेरै बेफाइदा भएको गुनासो गरे । उनले भारतबिरुद्धको खेलमा डिफेन्समा समस्या देखिएको र त्यसलाई सुधार्न प्रयासरत रहेको बताए ।

यता यमनी टोलीका प्रशिक्षक इब्रहिम मेइब्राराले एक महिनादेखि तयारीमा रहेको टोलीले अपेक्षित नतिजा हासिल गर्नेमा आशाबादी रहेको बताए ।

उनले भने, ‘मैले नेपाली टोलीलाई राम्रोसँग चिनेको छु, पछिल्ला वर्षहरुमा उसले सुधारिएको प्रदर्शन गरेको छ । सन् २०१२ मा भएको खेलमा हामीले २-० ले जितेका थियौं ।’

आफ्ना टोलीका चार खेलाडी बहराइन, ओमान लगायतका मुलुकमा व्यवसायिक फुटबल खेल्ने उनले बताए । तयारीका क्रममा इजिप्टको पहिलो डिभिजनको क्लवसँग अभ्यास खेल खेलेको पनि उनले बताए । यसअघि यमनले छनौटको पहिलो खेलमा किर्गिस्तानलाई २-१ गोलले हराएको थियो ।