पोखरामा कांग्रेस-माओबादी तालमेल फेल, काग्रेस हाप, माओवादी निल, एमालेलाई दुइतिहाइ


पोखरा – सत्तारुढ दुई दलको तालमेललाई चिर्दै पोखरा लेखनाथ महानगरमा भारी मतको साथ एमाले उम्मेदवार मान बहादुर जिसीले शानदार जित निकाले । नेपाली कांग्रेस र माओबादी केन्द्रको साझा उम्मेदवार भनिएका रामजी कुँवर १३ हजार ७०२ मतले पछि परे ।

दुई दलको मत मिलाएर पनि कुँवरले जित्नु त परैको कुरा प्रतिश्पर्धामा समेत खरो उत्रन सकेनन् । पोखरा मात्रै होइन अन्य महानगरमा भएको यी दुई दलको तालमेल पनि फेल खाने संकेत देखिएको छ ।

नेताको आफन्तलाई छानेर अन्तिम समयमा केन्द्रमा गरिएको तालमेल जिल्ला तहका नेता कार्यकर्ताले मन नपराउनु र मतदाताले बुझ्न नसक्नुले पनि कांग्रेस माओबादीको तालमेल निश्प्रभाब भयो । पोखराको हकमा मतदातामाझ चिनिएका नाम र अनुहार हो मानबहादुर जिसी । जिसीको तुलनामा कुँवर महानगरवासीमाझ कम चिनिएका पात्र मानिन्छन् ।

केन्द्रमा पहुँच पुर्याएका आधारमा मनोनयनका दिन टिकट पाएका कुँवरलाई कांग्रेस मतदाताकै मत नपरेको कतिपयको विष्लेषण छ । उम्मेदवार चयनका क्रममा पनि पहिले एक र पछि अर्को गर्नु कांग्रेसको कमजोरीका रुपमा कतिपयले बुझेका छन् ।

तालमेलमा सामेल माओबादी केन्द्रको सबै मत कांग्रेस उम्मेदवार कुँवरलाई जान सकेन । कुँवरलाई समर्थन गर्दै माओबादी केन्द्रका उम्मेदवारले मनोनयन फिर्ता गरेपनि सो चुनाव चिन्ह्मा झण्डै एक हजार मत परेको छ । कास्की कांग्रेसका एक नेताका अनुसार पार्टी भित्रकै अन्तरघात र समय घर्किएपछि गरिएको तालमेलका कारण कुँवर पराजित भए । अन्य प्रभावशाली उम्मेदवार हुदाहुदै कमजोर उम्मेदवारलाई अन्तिम समयमा चयन गर्दा पोखरा महानगरका कांग्रेस समर्थित मतदाता र नेता कार्यकर्ता पनि रष्ट भए ।

प्यानल सहित ७ वडा जितेको कांग्रेसले महानगरको प्रमुख र उप प्रमुखमा पनि सो अनुसारको मत प्राप्त गर्न सकेन । एमालेले ३३ मध्ये २० वटा वडामा प्यानल सहितको जित हात पार्यो । तर माओबादी केन्द्रका कुनैपनि उम्मेदवार महानगरमा चुनिन सकेनन् । पोखरा लेखनाथ महानगरमा एमालेले आफ्नो पकड जमायो भने बाँकी रहेका क्षेत्रमा कांग्रेस हावी भयो । तर अन्य कुनैपनि दलका कुनैपनि उम्मेदवारले जित हात पर्न सकेनन् ।