दुई दशक पछि आज स्थानीय निर्बाचन,


मुलुकमा स्थानीय निर्वाचन २० वर्षपछि आज हुँदैछ । पहिलो चरणमा हुने यो मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ ।

पाँच वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय निर्वाचन २०५४ सालको जेठयता भएको थिएन ।संविधानसभाबाट नयाँ संविधान जारी भएर नेपाल संघीय संरचनामा गएपछि हुन लागेको यो पहिलो निर्वाचन पनि हो ।

माओवादी–कांग्रेस गठबन्धनको पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन ९ गते वैशाख ३१ गते एकै दिन निर्वाचन गराउने घोषणा गरेको थियो । तर वैशाख १० गते निर्णय गरी वैशाख ३१ र जेठ ३१ गते दुई चरणमा गर्ने घोषणा गरियो । त्यसअनुसार पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा निर्वाचन हुँदैछ ।

काठमाडौं, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ चारवटै महानगरपालिकाको निर्वाचन पहिलो चरणमै परेको छ । चितवनबाहेक तराईका सबै जिल्ला र अन्य पहाडी जिल्लासमेतको ४ सय ६१ गाउँपालिका र नगरपालिकाको निर्वाचन दोस्रो चरणमा हुनेछ

पहिलो चरणको निर्वाचनबाट विभिन्न पदमा १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । उक्त पदका लागि ४९ हजार ३ सय ३७ जना उम्मेदवार प्रतिस्पर्धी छन् । कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले पहिलो चरणको मतदानमा भाग लिन पाउने छन् ।