इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिगको फाइनलमा


इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान टुरिनमा भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा मोनाको क्लबलाई २–१ गोलले पराजित गर्दे समग्रमा ४–१ गोलको नतिजा निकाल्दै युभेन्ट्स फाइनल प्रवेश गरेको हो। यो सँगै युभेन्ट्स ३ वर्ष यता दुई पटक फाइनल पुग्न सफल बनेको छ। तर यो ९ पटकको च्याम्पियन्स लिग फाइनल यात्रा भए पनि हालसम्म युभेन्ट्सले २ पटक मात्र उपाधि चुमेको छ।

युभेन्ट्सका लागि पहिलो गोल मारियो मान्डजुकिकले गरे। अर्को गोल आल्भेसले ४४ मिनेटमा लामो प्रहारबाट गरे। उनले २५ यार्ड टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। दोस्रो हाफको ६९ मिनेटमा मोनाकोका केलियान माबापेले शान्तोना गोल फर्काएका थिए।

सन् २०१५ को च्याम्पियन्स लिगमा फाइनल पुगेको युभेन्ट्स बार्सिलोनासँग पराजित भएको थियो। अब युभेन्ट्सले बुधबार हुने स्पेनका दुई क्लब रियल र एट्लेटिको म्याड्रिडबीचको बिजेतासँग फाइनल खेल्नु पर्नेछ।