नेपाली कांग्रेसबाट पोले मनपाको मेयरमा पालिखे, उपमेयरमा पौडेल


पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेस शंकर पालिखेले टिकट पाएका छन् । त्यस्तै उपमेयरमा चन्द्रावति पौडेल चयन भएकी छिन् । जिल्ला समितिले सिफारिस गरेका ३३ जनाबाट केन्द्रिय समितिले उमेद्वारको टुङ्गो लगाएको हो ।

नेपाली कांग्रेसको क्षेत्रीय समितिले जिल्ला समितिलाई पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा ३३ र उपमेयरमा १५ जनाको नाम सिफरिस गरेकोमा सबै नाम जस्ताको त्यस्तै केन्द्रिय समितिमा पठाइएको थियो । कांग्रेस स्रोतका अनुसार कास्की क्षेत्रनम्बर ३ बाट सिफारिमा परेका पालिखे र क्षेत्रनम्बर १ बाट सिफारिस भएकी पौडेललाई उमेदवार बनाउने निर्णय भएको हो ।

निर्वाचन तालिका अनुसार उमेदवार मनोनयन दर्ताको अघिल्लो दिन मेयर र उपमेयरका उमेदवार चयन भएका हुन् । मेयरको टिकट पाएका पालिखे यसअघि २०४९ सालमा साविकको पोखरा उपमहानगरपालिकाको उपमेयर भैसकेका ब्यक्ति हुन् । पौडेल स्व. रामजी पौडेल बादलकी धर्मपत्नी हुन् । बादलको लेखनाथमा २०७२ साउन २८ गते राती हत्या भएको थियो ।