अन्य पार्टीसँगको तालमेलमै अड्कियो कास्कीमा उम्मेद्वारी घोषणा


पोखरा – सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने गरी मिति घोषणा गरेको छ । प्रतिपक्षी दलसहितको समन्वयमा वैशाख ३१ र जेठ ३१ गते चुनावको मिति तय गरिएको हो । पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा चुनाव हुँदैछ । पहिलो मितिमा चुनाव घोषणा भएका तीनै प्रदेशका अधिकांश जिल्लाबाट स्थानीय तहका उम्मेद्वार सार्वजनिक भएका छन् तर कास्कीमा अन्य पार्टीसँगको तालमेलमा उम्मेद्वार घोषणा अड्किएको छ ।

एमालेसँग काँग्रेसको डर छ भने काँग्रेसले एमालेलाई प्रमुख दावेदार ठानेको छ । दुवै पार्टीलाई चुनाव जित्नेमा आशंका छ । त्यसैले दुवैले तेश्रो र चौथो शक्तिको साथ खोजिरहेका छन् । नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो पक्षमा पार्ने दुवैको दाउ रहेको बुझिन्छ ।

जिल्लामा विगतका चुनाव केलाउने हो भने २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पहिलो बनेको माओवादी दोस्रो संविधानसभा निर्वाचन २०७० मा तेस्रोमा सीमित भयो । २०६४ को तेश्रो पार्टी नेपाली काँग्रेस ७० मा दोश्रो बन्यो । ६४ सालमा दोश्रो हुँदै एमाले ७० मा पहिलो पार्टी बनेको छ । समानुपातिकतर्फको मतगणनामा २०६४ मा ५९ हजार सात सय ८० मत पाएको माओवादी ७० मा २३ हजार तीन सय एक मतमा खुम्चियो । काँग्रेसले ६४ सालमा ४६ हजार दुई सय ७८ मत प्राप्त गर्दा एमालेले ५० हजार आठ सय ८१ मत पायो । ७० सालमा एमालेले समानुपातिक मत ५० हजार पाँच सय ४० मात्रै पाउँदा काँग्रेसको पोल्टामा ४८ हजार सात सय ५४ मत थियो। यसरी हेर्दा नेपाली काँग्रेसले पछिल्लो समय समानुपातिकतर्फको मत ६४ मा भन्दा बढाएको छ भने एमालेको यथावत जस्तै छ । राप्रपा र राप्रपा नेपालको मतलाई जोड्दा पहिलो संविधानसभामा पाँच हजार छ सय ५५ मत थियो भने दोस्रोमा नौ हजार पाँच सय ९९ मत पर्‍यो ।

kaski२३ दल दर्ता रहेको जिल्लामा अरु दलको उपस्थिति बलियो छैन । यद्यपि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम लोकतान्त्रिकको पनि उपस्थिति ठिकै छ । २०६४ मा माओवादी, काँग्रेस, राप्रपाबाहेक ४८ दलले १६ हजार तीन सय २९ मत पाएका थिए । २०७० मा अखण्ड नेपालले छ हजार ९९ मतसहित पाँचौ बनेको थियो भने संघीय समाजवादी पार्टी नेपालले चार हजार पाँच सय १० मतसहित छैटौं पार्टी बनेको हो । अखण्ड र संघीय समाजवादीसहित एक सय १८ दलले २१ हजार छ सय ९६ मत प्राप्त गरेका थिए। विगतका चुनाव आँकलन गरेर दुवै ठूला पार्टीले माओवादीसँग सहकार्य गने दाउ र्खो जिरहेका छन्। माओवादी पनि दुवै पार्टीसँग छलफलमा ब्यस्त छ। आफूलाई जुन पार्टीले राम्रो ठाउँ दिन्छ, उसैसँग सहकार्य गर्ने माओवादीको तयारी बुझिन्छ। प्रत्यक्षतर्फको मतगणनामा पनि ६४ मा माओवादी पहिलो पार्टी हो भने एमाले दोश्रो तथा काँग्रेस तेश्रो थियो। ७० सालमा एमाले पहिलो र काँग्रेस दोश्रो बन्दा माओवादी तेश्रो तथा राप्रपा र राप्रपा नेपालको संयुक्त पार्टी चौथो पार्टी बनेको छ। एमाले र काँग्रेसबीचको समानुपातिक मतान्तर जिल्लाभर एक हजार सात सय ८६ छ ।

माओवादीसँग तालमेलका लागि औपचरिक बैठक नभए पनि सामान्य छलफल भइरहेको काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए। औपचारिक बैठक नभएकाले कुन तहमा कसरी मिल्ने भन्ने टुंगिएको छैन। ‘अन्य दलसँग पनि सहकार्य गरेर जाने विषयमा काँग्रेस तयार छ। साना ठूला जुनसुकै भए पनि सहभागी गराउन सके स्थानीय तह मजबुद बनाउन सकिन्छ’–केसी भन्छन्–‘कुनै पनि पार्टीलाई निषेध गर्ने गरी काँग्रेसले निर्णय गर्दैन। सबैलाई समेट्ने हाम्रो धारणा छ।’

एमालेका जिल्ला अध्यक्ष कृष्ण थापाले पनि अरु पार्टीहरुसँग सहकार्यका लागि छलफल भइरहेको बताए। उनका अनुसार माओवादी र राप्रपासँग बढी छलफल चलिरहेको छ। ‘काँग्रेसबाहेकका दलसँग सहकार्य गर्न एमाले तयार छ’–उनले भने–‘आफ्नो हैसियतअनुसारको प्रस्ताव कुनै पार्टीले गर्‍यो भने एमालेले स्वीकार गर्छ।’ आइतबारसम्म एमालेले आफ्ना उम्मेद् वार सार्वजनिक गरि सक्ने थापाले जानकारी दिए ।
माओवादी केन्द्रका जिल्ला संयोजक दीपक कोइराला जुनसुकै दलसँग सहकार्यका लागि तयार रहेको बताउँछन्। सहयात्रामा सँगै हिडेका दलसँग सहकार्य गर्न अप्ठ्यारो छैन। हामी पनि मिलेरै जाने विषयमा सकारात्मक छौं’–उनले भने–‘विभिन्न विकल्पमा छलफल भएको छ । सम्मानजनक पद पाए सहकार्यमा समस्या छैन।’ पार्टीगतरुपमा छलफल अन्तिम चरणमा पुगेकाले माओवादीले पनि आइतबारसम्म अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले उपमेयरसहित महानगरका १० वडामा अध्यक्ष पाए सहकार्यका लागि तयार रहेको बताए। काँग्रेस र एमालेसँग सहकार्य गर्ने विषयमा धेरै अगाडि बढेका छौं। उपमेयर र एउटा गाउँपालिका प्रमुखमा हाम्रो दाबी हो’–उनले भने–‘हाम्रो प्रस्ताव स्वीकार्ने पार्टीसँग सहकार्य हुन्छ ।’ पुनका अनुसार ७२ वटै वडामा आफ्नो पार्टीको उपस्थिति हुनुपर्ने राप्रपाको माग छ ।

माओवादी चाहीँ उपमेयरसहित दुई गाउँपालिकाको प्रमुख ताकिरहेको छ । काँग्रेसले उपमेयर र एउटा गाउँपालिका प्रमुखमा माओवादीसँग सहकार्य गर्ने तयारी बुझिएको छ । एमाले पनि त्यही विषयमा आन्तरिक छलफल गरिरहेको छ । संसदीय चुनाव र स्थानीय तहको चुनाव फरक भएकाले आँकलन गर्न सजिलो भने छैन । यद्यपि पार्टीगत उपस्थितिले काँग्रेस र एमाले झण्डै बराबर अस्तित्वमा छन् भने माओवादी र राप्रपा निर्णायक शक्तिको रुपमा देखिन्छन्। त्यसैले काँग्रेस र एमाले माओवादी केन्द्र र राप्रपालाई फकाउन लागिरहेका छन्।

राजनीतिक विश्लेषक विश्व सिग्देल एजेण्डाबिना गरिएको एलायन्सले प्रभाव नपार्ने बताउँछन् । ‘सहकार्यका लागि पनि केही आधार हुन्छन्। आधारबिनाको एलायन्सको कुनै तुक हुँदैन’–उनले भने–‘राजनीतिक दलले परिवार र समर्थकसँग राय लिएर एलायन्स गरे दिगो हुन्छ। अन्यथा परिणाम स्वभाविक नहुन सक्छ ।’ राष्ट्रिय एजेण्डामा स्थानीय चुनाव नहुने भन्दै स्थानीयरुपमा संयुक्त एजेण्डा बनाउनुपर्ने उनको सुझाव छ । पत्रकार प्रकाश ढकालले खबर लेखेका छन् ।