बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३० घाइते, मनिपाल अस्पताल विरुद्ध स्थानीयबासी खनिए


पोखरा – मुक्तिनाथ मन्दिरबाट जोमसोम तर्फ आउँदै गरेको बस शनिवार दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । तीर्थ यात्री चढेको ना ५ ख ६०६७ नं को बस दिउँसो साढे १२ बजे बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित सडकमा पल्टिदा पाँच जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा भक्तपुर महालक्ष्मी नगरपालीका २ ईमाडोलका ५५ वर्षिय लिला खडका, सोही नगरपालीका ८ की अन्दाजी वर्ष ४० की सीता तिमिल्सिना, काठमाडौं महानगरपालीका ३५ का ५५ वर्षिय भोला अधिकारी, सोही महानगरपालीका ३२ का ४५ वर्षिय पुरुषोत्तम ढकाल र सोही महानगरपालीका ३ का ७० वर्षिय कान्छी खड्का रहेका छन् ।

बसमा सवार ३५ मध्ये अन्य सबै घाइते भएका छन् । गम्भिर घाइते १५ जनालाई हेलिकप्टर मार्फत पोखरा ल्याइएको छ । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । तत्काल उपचारका लागि हेलिकप्टर मार्फत मनिपाल शिक्षण अस्पताल ल्याइएपनि सो अस्पतालमा जारी आन्दोलनका कारण विरामी भर्ना हुन नसकेपछि गण्डकी मेडिकल कलेज, फिस्टेल, मेट्रोसिटी लगायतका अस्पतालमा उपचार भैरहेको छ । अन्य १५ सामान्य घाइतेको जिल्ला अस्पताल जोमसोममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तिर्थयात्रुले बस रिजर्भ गरी मुक्तिनाथ दर्शनका लागि गएका थिए । उनीहरु मन्दिर दर्शन गरेर फर्किदै गर्दा दुर्घटनामा परेका हुन् ।

मनिपाल अस्पताल विरुद्ध स्थानीयबासी खनिए

मुक्तिनाथ दर्शन गरेर फर्कंदा बस दुर्घटनामा परेर घाइते भएकालाई नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा झारियो । मनिपाल अस्पताल प्राङ्गणमा हेलिकोप्टर ल्याण्ड भएपछि बिरामीलाई अस्पताल छिराउन सकिएन । अस्पतालमा झण्डै तीन महिनादेखि चिकित्सक आन्दोलित छन् । यत्रो समय हुँदा पनि अस्पताल व्यवस्थापनले माग सुनुवाई नै गरेको छैन ।

मनिपाल अस्पतालका चिकित्सकले आफूहरु आन्दोलनमा रहेको भन्दै घाइतेको उपचार गर्न अस्वीकार गरे । उसो त अस्पताल प्रशासनले कुनैपनि बिरामीहरुलाई भर्ना नलिनु भन्ने आदेश प्राप्त भएको जनाउँदै घाइतेहरुलाई उपचार नगर्ने भनियो । डाक्टर आन्दोलनमा छौं भन्ने र प्रशासनको बिरामी भर्ना नगर्ने आदेशको चर्को विरोध भएको हो ।

झण्डै आधा घण्टासम्म बिरामी हेलिकप्टरै छट्पटाएर रहनुपर्ने दृश्यले सबैको मन कुँडियो । भारतीयहरुले सञ्चालन गरेको मनिपाल अस्पताल विरुद्ध स्थानीयबासी खनिए । आन्दोलन जस्तोसुकै भएतापनि यति ठूलो विपद्मा डाक्टर जस्तो मर्यादित र आदरभाव रहने पेशामा रहेकाहरुले चासो नदेखाउनु गलत भएको भन्दै नाराबाजी भयो । उनीहरुले तालाबन्दी सहित स्वास्थ्य मन्त्री र गृहमन्त्रीको राजिनामा माग्दै नारा समेत लगाएका थिए । वडा प्रहरी कार्यालय बगरको टोली त्यहाँ खटिएको थियो ।

त्यसपछि घाइतेलाई पोखराको फिस्टेल हस्पिटल, गण्डकी मेडिकल कलेज, फेवा सिटी हस्पिटल, मेट्रोसिटी हस्पिटल लगायतका स्थानमा लगियो । ‘अस्पतालमा उपचार हुन नसकेपछि तत्काल पोखराका विभिन्न हस्पिटलहरुमा घाईतेलाई लग्यौं’ वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले बताए ।

फिस्टेल हस्पिटलमा भक्तपुर ११ का ७१ वर्षिय सीता पौडेल, मेनुका सुवेदी, बिमला बस्नेता, तोयानाथ दुलाल, जानकी थापा, सारदा दुलाल, श्याम प्रसाद सापकोटा, मीरा थापाको उपचार गरिएको छ । गण्डकी मेडिकल कलेजमा चन्द्र तिमिल्सिना, निर्मला सुवेदी, काभ्रेका २९ वर्षिय सागर अधिकारी, घट्टेकुलोका ७२ वर्षिय छायादेवी रिमालको उपचार गरिएको छ । यस्तै, फेवा सिटीमा काठमाण्डौ ३५ का सिम्रन सुवेदी र मेट्रोसिटीमा सुलोचना पराजुलीको उपचार गरिएको बताईएको छ ।