सत्तासीन राष्ट्रिय प्रजातन्त्र पार्टीका पछिल्ला गतिविधिप्रति निर्वाचन आयोगको आपत्ति


काठमाडौ – निर्वाचन आयोगले सत्तासीन राष्ट्रिय प्रजातन्त्र पार्टीका पछिल्ला गतिविधिप्रति आपत्ति जनाएको छ । राप्रपाको विधानबाट संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हटाउने आयोगको निर्णय जलाइनु र पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाबाट आपत्तिजनक अभिव्यक्ति आउनु दुःखद रहेको आयोगले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

आयोगले विधानबाट संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हटाएपछि राप्रपाले मंगलबार देशभर निर्णयको प्रति जलाएर विरोध प्रदर्शन गरेको थियो । पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री थापाले आयोगको निर्णय नसच्चिए सत्ता छाडेर सडक संघर्षमा जाने धम्की दिएका थिए । ‘राप्रपाले निर्वाचन आयोगले गरेको निर्णय जलाउने तथा सो व्यहोराको विज्ञप्ति जारी गर्नेसम्मका क्रियाकलाप भएको र मन्त्रिपरिषद्को वरिष्ठ सदस्यसमेत रहेको दलको तर्फबाट भएका त्यसप्रकारका विज्ञप्ति र क्रियाकलापबाट आयोग मर्माहत भएको छ,’ आयोग प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सत्तासीन दलका अध्यक्ष तथा उपप्रधानमन्त्रीका अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले कानुनअनुसार काम नगर्न दबाब दिइनु आपत्तिजनक भएको बताएको छ ।

‘आयोगले गरेको कार्यसम्पादनलाई लिएर सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहेका सो दलका नेताबाट व्यक्त भएका भनी आमसञ्चार माध्यमबाट प्रकाशित विचार र उहाँको पार्टीका तर्फबाट केही दिनयता भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र कानुनअनुसार आयोगले कार्यसञ्चालन गरिरहेको अवस्थामा त्यसो नगर्न दबाब दिने क्रियाकलापप्रति गम्भीर आपत्ति प्रकट गर्दै आयोग भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन ध्यानाकर्षण गराउँछ ।’