स्थानीय निर्वाचन तोकिएकै समयमा शान्तिपूर्ण वातावरणमा हुन्छ : गृहमन्त्री निधि


पोखरा – उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय निर्वाचन तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास ब्यक्त गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको पोखरामा समापन गर्दै उनले बैशाख ३१ गतेको निर्वाचन निश्पक्ष र भयरहित वाताबरणमा सम्पन्न गर्ने गरी सुरक्षा तयारी गरिएको बताए ।

क्षेत्रीय स्तरमा आयोजित सुरक्षा गोष्ठीबाट जिल्ला र क्षेत्रगत सुरक्षा अबस्था वारे बिस्तृत जानकारी लिएर सोहि अनुसारको ब्यवस्था मिलाउन निर्देशन दिइएको गृहमन्त्री निधीले बताए । निर्वाचनमा जनताको जिउ धनको सुरक्षा, शान्तिब्यवस्था, कानुनी ब्यवस्थालाई अझै कसरी ब्यवस्थित गर्ने भन्ने बारे सुरक्षा गोष्ठीमा ब्यापक र बिस्तारित रुपमा छलफल गरिएको उनले जानकारी दिए ।

उनका अनुसार मतदाता, उमेदवार, निर्वाचनमा खटिने कर्मचारी सबैको सुरक्षा ब्यवस्थालाई ख्याल गरी सुरक्षा योजना तय गरिएको छ । चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउन गृहमन्त्रालयको तर्फबाट कुनै कसुर वाँकी नराख्ने उनको प्रतिबद्धता छ ।

तत्कालका लागि सरकारले एकै चरणमा निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको तर मधेशवादी दल निर्वाचनमा सहभागी हुन तयार भए उनीहरुको माग अनुसार दुई चरणमा पनि हुन सक्ने उनले प्रष्ट पारे ।

सुरक्षा गोष्ठीमा बोल्दै गृहसचिव लोकदर्शन रेग्मीले कुनै अनिश्चय र द्धिविधामा नपरी आफ्नो योजना अनुसार समन्वयात्मक रुपबाट कार्यक्षेत्रमा खटिन निर्देशन दिए ।

गोष्ठीमा गृह मन्त्रालय अन्तर्गत तीन वटै सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका उच्च अधिकृत, क्षेत्रीय प्रशासक, सुरक्षा निकायका क्षेत्रीय प्रमुखहरु, अञ्चल प्रमुख, पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुखहरुको सहभागीता थियो । गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ आफ्नो जिल्लामा स्थानीय निर्वाचनलाई केन्द्रित गरी तयार पारिएको सुरक्षा रणनीति र चुनौतीका बारेमा ब्रिफिङ गरेका थिए । गोष्ठीमा बोल्ने सबै जसो प्रमुख जिल्ला अधिकारीले सुरक्षाका लागि जिल्ला तहमा स्रोत साधनको कमी रहेको, सवारी साधन पर्याप्त नभएको लगायतका गुनासो गरेका थिए ।

निर्वाचन केन्द्रित सुरक्षा रणनीति तय गर्न पाँच विकास क्षेत्र मध्ये पोखरामा चौथो गोष्ठी सम्पन्न भएको हो । यसअघि पूर्वाञ्चलको विराटनगर, सुदुरपश्चिमाञ्चलको धनगढी र मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा सुरक्षा गोष्ठी सम्पन्न भैसकेको छ ।