दिउँसो जसलाई सलाम गरे बेलुका उनकै सलाम खाए


काठमाडौं । सोमबार दिउँसोसम्म डिआइजी प्रकाश अर्यालका लागि एआइजी डा. दिनेशचन्द्र पोखरेल संगठन प्रमुख थिए । अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा सलाम गर्दै अर्यालले डा. पोखरेललाई आफ्नो विभागको ब्रिफिङ गर्दथे ।

तर, बेलुका अर्याल प्रहरी मुख्यालय पुग्दा उनै डा. पोखरेलले अर्याललाई सलाम गरे । साँझ सरकारले अर्याललाई आइजिपी नियुक्त गरेको थियो । जसका कारण अर्याल पोखरेलका हाकिम बनिसकेका थिए । प्रहरी इतिहासमा सम्भवतः पहिलोपटक यस्तो दृश्य देखिएको थियोे ।

आइजिपी बढुवाको विवादले यस्तो अवस्था आएको थियो । सरकारको निर्णयलाई अदालतले रद्द गरिदिएपछि प्रहरी अस्पतालका एआइजी पोखरेललाई सरकारले गत २ फागुनदेखि निमित्तको जिम्मेवारी दिँदै आएको थियो । सोमबार सरकारले अर्याललाई आइजिपी बनाएपछि उनी प्रहरी अस्पताल फर्किएका छन् । सरकारले जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा गत ८ चैतमा सर्वोच्च अदालतले सो निर्णय रद्द गरेको थियो । कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्न सर्वोच्चले आदेश दिएपछि सरकारले अर्यालको कार्यसम्पादन मूल्यांकन नम्बर धेरै भएको भन्दै उनलाई आइजिपी बनाउने निर्णय गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।