संघीय संरचनामा तेहेरो कर प्रणाली हुदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संरचनामा तेहेरो कर प्रणाली नहुने बताएका छन् । संघीय संरचनाको कर प्रणालीप्रति निजी क्षेत्र चिन्तित देखिएको भन्दै प्रधानमन्त्रीले तेहेरो कर नलगाइने स्पष्ट पारेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५१औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले कर प्रणालीमा ढुक्क हुन उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘संघीय प्रणालीमा तीनवटै तहले छुट्टाछुट्टै कर उठाउन सक्ने निजी क्षेत्रको चिन्ता र चासो रहेको देखियो र यो स्वाभाविक पनि हो,’ उनले भने, ‘कर उठाउने अधिकार तीनै तहमा भए पनि उद्योग व्यवसायबाट दोहोरो–तेहेरो कर भने लगाइनेछैन ।’

प्रधानमन्त्री प्रचण्डले संघीय प्रणालीमा मुलुकभित्रै हुने वस्तु, सेवा र पुँजीको आवत–जावतमा कुनै पनि प्रकारको कर नलगाइनेसमेत बताए । ‘देशको प्रतिस्पर्धी क्षमता बढाउन निर्यात व्यापारमा शून्य करको व्यवस्था भएको अवस्थामा मुलुकभित्रै हुने आवत–जावतमा कर लाग्ने गरी बजारलाई खण्डित गरिनेछैन,’ उनले भने, ‘कर प्रणाली तर्जुमा र कार्यान्वयनमा संविधानमा भएको व्यवस्थाअनुसार हुनेछ ।’ सरकारका तहहरूबीच जिम्मेवारीको बाँडफाँडले उद्योग व्यवसाय झन् जटिल हुन सक्ने निजी क्षेत्रको चासो र चिन्ता रहेको भन्दै उनले प्रक्रियालाई सरल बनाउन र जटिलता हटाउन सरकार सचेत रहेको स्पष्ट पारे ।