स्पेन,फ्रान्समा स्वतन्त्र देशको माग गरेको इटीएले हतियार बुझायो


युरोपको अन्तिम विद्रोह अन्त्य गर्दै बास्क लडाकु समूह इटीएले आफ्ना बाँकी हतियार हस्तान्तरण गर्न शुरु गरेको छ। 
फ्रान्सको दक्षिणी शहर बायोनस्थित एउटा समारोहमा विद्रोहीका हतियारको सूची र भण्डारणको ठेगाना न्यायिक अधिकारीसमक्ष बुझाइएको छ। 

फ्रान्सका आन्तरिक मामिलामन्त्री म्याटियास फेकेलले त्यसलाई “महत्वपूर्ण कदम” भनेका छन्। स्पेन र फ्रान्सको सिमाना क्षेत्रमा स्वतन्त्र देश बनाउनका लागि करिब ४० वर्षको हिंसात्मक संघर्षका क्रममा इटीएले ८०० भन्दा बढी मानिसको ज्यान लिएको थियो। 

उसले सन् २०११ मा युद्धविरामको घोषणा गरेको थियो तर हतियार भने बुझाएको थिएन। प्रहरीलाई दिइएको सूचीमा आठवटा स्थान रहेको भन्दै फेकेलले तिनीहरुलाई सुरक्षित बनाउने प्रहरी कारबाही शुरु गरिएको बताएका छन्। 

ती भण्डारमा १२० हतियार, तीन टन विस्फोटक पदार्थ र हजारौं गोलीहरु रहेको एकजना मध्यस्थकर्ताले बताएका छन्। ५० वर्षअघि स्पेनका तानाशाह जनरल फ्रान्कोको समयमा इटीए स्थापना गरिएको थियो। फ्रान्स र स्पेनले इटीएसँग वार्ता गर्न अस्वीकार गरेका छन् भने उक्त समूह इयुको कालोसूचीमा छ। 

इटीएका सदस्यहरुलाई हतियार समर्पण गराउन वर्षौं लागेको बीबीसीकी लिस डुसेट बताउँछिन्। उनीहरुले त्यसवापत केही पाउँदैनन्। डुसेटका अनुसार करिब सयजना कट्टरपन्थी लडाकुले अझै त्यस्तो कदमको विरोध गरिरहेका छन्। 

शनिबार दिइएको सूचीमा रहेका स्थानहरुमा फ्रान्सका प्रहरीले जाँच गर्न थालेका छन्। इटीएले पहिलोपटक सन् १९९८ मा युद्धविराम गरेको थियो तर त्यो सन् १९९९ मा भंग भएको थियो। सन् २००६ मा पनि उसले हतियार बुझाउने वाचा गरेको थियो तर त्यो पूरा गरेन। 

सन् २०१० मा उसले भविष्यमा कुनै पनि आक्रमण नगर्ने घोषणा गरेको थियो तर हतियार बुझाएन। पछिल्ला वर्षमा फ्रान्स र स्पेनका प्रहरीले नेताहरु लगायत सयौं लडाकुलाई गिरफ्तार गरेर र थुप्रै हतियार कब्जा गरेर इटीएमाथि धेरै दवाव दिएका छन्। इटीएको राजनीतिक शाखालाई स्पेनको सरकारले प्रतिबन्धित गरेको थियो।-बीबीसी नेपाली सेवाबाट