अमेरिकामा उभौली पर्व मनाईदै


न्यूयोर्क / अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुले यो बर्षको किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा (चौथो बार्षिक किराँत उभौली कार्यक्रम) टेक्सासको डालस शहरमा विभिन्न कार्यक्रम गरी मनाउने गर्ने निर्णय गरेका छन् ।

आगामी  मे २६ देखि २८ सम्म चल्ने सो कार्यक्रममा अमेरिकामा रहेका किराँतहरुको केन्द्रिय संगठन किराँत कम्युनीटि अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटि अफ टेक्सास फर रिलीजन एण्ड कल्चरले संयुक्त रुपमा आयोजना गर्न भएका हुन् ।

अमेरिकामा रहेका किराँत परिवारहरुको विशाल जमघट रहने सो पर्वलाई विगत ४ वर्षदेखि किराँत कम्यूनीटि  अर्गनाइजेसन अफ अमेरिकाले विभिन्न राज्यमा रहेका आफ्ना शाखाहरुसंग मिलेर मनाउदै आएको छ । “विदेशमा रहेर पनि आफ्नो कला, धर्म र संस्कृतीको संरक्षण गर्दै अमेरिका जस्तो बहुसांस्कृतिक मुलुकमा किराँत पहिचान जोगाउने उदेश्यले यो पर्व मनाउन लागिएको हो,” किराँत कम्यूनीटि अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुहाङले जानकारी दिए।

“विश्वका मानवजातीको सुख, शान्ति र समृदिको लागी हेरक बर्ष उभौली पर्वमा भगवान तगेरा निगंवाभुमाङसंग हामी प्रार्थाना गर्ने गर्दछौँ ।” किराँत धर्मका पुजारि समेत रहेका सुहाङले बताए ।तीन दिनसम्म चल्ने सो मेलाको पहिलो दिन किराँत कम्यूनीटि अर्गनाइजेसनको राष्टिय भेला तथा साधारणसभा तथा विज्ञहरुको सम्मेलन, दोस्रो दिन उभौली पुजा, प्रार्थना, साकेला नाच, किराँत भजनकिर्तन र धर्मगुरुहरुको साधारणसभा हुनेछ भने अन्तिम दिन सांस्कृतीक कार्यक्रम र किराँत धर्मको संरक्षण र प्रवर्धनमा भूमिका खेलेका विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गर्ने कार्यक्रम रहेको प्रचार संयोजक मिरा राइद्धारा जारि प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उभौली र उधौली किराँत धर्मका दुइ महान चाडहरु हुन् । जसमध्ये उधौली हिउँदमा मनाइन्छ भने उभौली अन्नपात राम्रो होस् भन्ने कामना गर्दै बर्षामा मनाइन्छ । यस अघि यो कार्यक्रम जर्जीया, ओहायो र टेनीसीमा सम्पन्न भएका थिए । कार्यक्रममा सहभागीताको लागी अमेरिकामा रहेका समस्त भुटानी तथा नेपाली समुदायमा अर्गनाइजेसनले हार्दिक अपिल समेत गरेको छ ।