दलीय सहमति अनिवार्य रहेको भन्दै निर्वाचन आयोगको नयाँ सर्त, निवार्चन हुनेमा श‌ंका (छापाबाट)


निर्वाचन आयोगले निर्धारित समयमा स्थानीय तह निर्वाचन सम्पन्न गर्न दलीय सहमति अनिवार्य रहेको भन्दै नयाँ सर्त अघि सारेको छ । स्थानीय तहको निर्वाचनका लागि दलहरूबीच अपेक्षित सहमति, सहकार्य र विश्वास कायम हुन नसकेको जनाई आयोगले निर्धारित समयमै चुनाव सम्पन्न गर्न दलीय सहमति अनिवार्य हुने सर्त राखेको हो । आजको राजधानी दैनिकमा खबर छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबार साँझ पत्रकार सम्मेलन गरी निर्वाचनमा सबै दलको सहभागिता हुनुपर्ने अडान राखे । उनले सम्पूर्ण राजनीतिक दलहरूबीच आपसी सद्भाव कायम गरी स्थानीय तहको निर्वाचन व्यवस्थापन कार्यलाई सहज, सरल र सुगम बनाउन पनि सबै दललाई आग्रह गरे । ‘प्रदेश–२ मा जुन खालको अवस्था छ, त्यो निकै जटिल छ, निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्न अझै दलहरूबीच सहमतिको वातावरण बन्नुपर्छ, प्रधानमन्त्रीसँग पनि यो विषयमा कुरा भएको छ,’ प्रमुख निर्वाचन आयुक्त यादवले भने । उनले सबै क्षेत्रमा निर्वाचन गर्नका लागि सहमति बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको समेत जानकारी दिए ।

उनले सरकारले पनि असन्तुष्ट पक्षसँगको वार्ता र संवादलाई निरन्तरता दिइरहेको भन्दै आयोग आशावादी रहेको बताए । दुई दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेट गरी प्रमुख निर्वाचन आयुक्त यादवले मधेसकेन्द्रित दललाई पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए । सोही आधारमा उनले पत्रकार सम्मेलन नै गरी तोकिएको समय ३१ वैशाखमै स्थानीय तहको निर्वाचन गर्न दलहरूबीच राजनीतिक सहमति अनिवार्य रहेको सर्त अघि सारेका हुन् ।

यादवको यो सर्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार आएको हो । मोर्चाले आफूहरूले भनेजस्तै संविधान संशोधन नगरी चुनावमा नजाने घोषणा गरिसकेका छन् । उनीहरूको दबाबकै आधारमा निर्वाचन आयोगले पनि ‘तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन’ राजनीतिक सहमति अनिवार्य रहेको सर्त अघि सारेको हो । आफैले सर्त राखे पनि उनले निर्वाचन आयोग निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै आयोगको विषयमा कुनै शंका नगर्न आग्रह गरे ।