कास्कीका पाँच स्थानीय तहको चुनावका लागि १ सय ५० मतदान स्थल सिफारिस


पोखरा- मतदान केन्द्र सिफारिस समितिले कास्कीका पाँच स्थानीय तहको चुनावका लागि १ सय ५० मतदान स्थल सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा एक सय ४७ स्थलमा मतदान केन्द्र भएको यस पटक तीन ठाउँमा थप गरेर १ सय ५० पुगेका हुन् ।

कास्कीमा नयाँ संरचना अनुसार रुपा गाउँपालिकास्थित वडा नम्बर ३ का लागि जनता मावि पोल्याङ, अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० स्थित साविकको गाविस भवन घान्द्रुक र अन्नपूर्ण गाउँ पालिकाका ७ नम्बर वडास्थित लुम्लेको तान्चोक माझगाउँ आधारभूत विद्यालय नयाँ मतदान स्थलको रुपमा थप गरेको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले बताए ।

यस्तै, अन्नपूर्ण गाउँपालिकाकै ६ नम्बर वडा लुम्लेको यसअघि मतदान हुन् ठाउँ संगम माविलाई हटाएरसिद्ध आधारभूत विद्यालयलाई कायम गरिएको छ । नयाँ संरचना अनुसार पोखरा लेखनाथ महानगरपालिकामा सबैभन्दा धेरै ९७ वटा मतदानस्थल छन् । यस्तै, मादी गाउँपालिकामा १७, अन्नपूर्णमा १५, माछापुच्छ«ेमा १२ र रुपा गाउँपालिकामा ८ वटा मतदानस्थल तोकिएको छ । नयाँ मतदानस्थल कायम गरिएकाले मतदान केन्द्र पनि सोही अनुसार थप हुने सुबेदीले जानकारी दिए । पहिलो निर्वाचनमा भन्दा अहिले मतदाताहरु पनि बढेका कारण करिब तीन सय १५ वटा कास्कीमा मतदान केन्द्र रहने बताए । उनले एक हजार मतदाता बराबर १ केन्द्र निर्धारण गरिने बताए । यसअघि दुईसय ९२ वटा मतदान केन्द्र थिए ।

पोखराको सबैभन्दा बढी मतदानस्थल रहेको वडा १६ मा ६ मतदानस्थल छन् । स्थानीय तहको चुनावमा कास्कीबाट दुई लाख २५ हजारचार सय ४२ जना सहभागी हुँदैछन् । त्यसमध्ये एक लाख ६८ हजार पाँच सय ८८ मतदाता पोखरा लेखनाथ महानगरपालिकामा छन् । यस्तै, माछापुच्छ«े गाउँपालिकामा १६ हजार तीन सय ४६, अन्नपूर्णमा १५ हजार छ सय छ, मादीमा १३ हजार पाँच सय १८ र रुपा गाउँपालिकामा ११ हजार तीन सय ८४ जना मतदाता रहेका निर्वाचन आयोग क्षेत्रीय कार्यालयका सूचना अधिकारी टेकबहादुर गुरुङले जानकारी दिए ।

कास्कीमा हालसम्म २३ दल दर्ता छन। नेपाली काँग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र, राप्रपा,राष्ट्रिय शिवसेना, नेपाल परिवार दल,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, विवेकशील नेपाली, सद्भावना पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेकपा संयुक्त,युनाइटेड ग्रिन अर्गनाइजेसन, तराईमधेस लोकतान्त्रिक पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त समाज, अखण्ड नेपाल पार्टी र नेकपा (माले जनसमाजवादी) पार्टी कास्कीमा दर्ता भएको उनले बताए ।