ल हेरौ आजका दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा के छ


आइतबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुमा निर्वाचन आयोगले आफ्नो विधानबाट ‘राजतन्त्र’ र ‘हिन्दू राष्ट्र’ हटाएकोमा सत्ताघटक राप्रपाले आन्दोलन गर्ने चेतावनी दिएको समाचारलाई फ्रन्टपेजमा छापेका छन् । त्यस्तै, भारतबाट ३३ बालबालिकाको उद्दार भएको समाचार र प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चैत १० गतेदेखि गर्ने चीन भ्रमणको एजेण्डा तय भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएका छन् ।

यससँगै नयाँ पत्रिका दैनिकले एमाले अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतबाट नेपाली कांग्रेसको कन्तबिजोग भएको बताएको समाचारलाई खास महत्व दिएको छ । त्यस्तै ‘गैंडाले खुट्टा लुछेका शोभाराम वन्यजन्तु संरक्षणमा’ शीर्षकको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।

मोरङमा दसगजा मिचेर भारतले सडक निर्माण गरेको समाचारलाई प्राथमिकताका साथ छापेको अन्नपूर्ण पोस्ट् दैनिकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पीडक चोख्याउने षणयन्त्र भएको उल्लेख गरेको छ ।

मेलम्चीको पानी असोजमा पनि काठमाडौंमा नआउनेलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालबाट कार्यकर्ता रिझाउन बजेट बाँडेको समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।

स्थानीय चुनावमा सुरक्षाका लागि प्रहरीसँगै सेना पनि परिचालन हुने समाचारलाई राजधानी दैनिकले एंकर बनाएको छ ।

आजदेखि मतपत्र छापिने समाचारलाई प्राथमिकता दिएको कान्तिपुर दैनिकले सुन तस्करीहरुको अस्वभाविक सम्पत्ति भएको समाचारलाई पनि महत्व दिएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सभामुखको सचिवालयमा रोकिएकोलाई महत्वका साथ छापेको गोरखापत्र दैनिकले साढे चार लाख महिलाको राहदानी अस्पष्ट भएकोलाई एंकर समाचार बनाएको छ ।