एटीएमबाट डाटा चोरी गरी पैसा झिकेको आशंकामा दुई विदेशी नागरिक पोखरामा पक्राउ


पोखरा- एटीएमबाट डाटा चोरी गरी पैसा झिकेको आशंकामा दुई विदेशी नागरिकलाई प्रहरीले पोखराको लेकसाईडबाट पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको लेकसाईडमा फ्ल्याट भाडामा लिएर बस्दै आएका बुल्गेरियन नागरिक रामोन डिमोभ र मार्टिन ऋस्टोर पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले नगद ३ लाख, एटीएम चिफ रिडर, चोर्न प्रयोग गरिएका अन्य सामग्री, भिसा कार्ड तथा ल्यापटप लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चोरीको पुष्टी नभएपनि शंकास्पद देखिएकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका बुल्गेरियन नागरिकहरुले हिमालयन वैंक र नविल वैंकको लेकसाईडस्थित एटीएमबाट पैसा झिकेको प्रहरीको आरोप छ । लेकसाईड स्थित हिमालयन बैंकको एटिएममा जडित सिसि टिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

२ दिनअघि नबिल वैंकबाट पैसा झिक्ने क्रममा वैंकका कर्मचारीलाई शंका लागेपछि वैंकमा लगाइएको सिसी क्यामराको फुटेज हेर्दा घटनाको खुलासा भएको थियो । त्यसपछि प्रहरीलाई खबर गरेको र शनिबार विहान उनीहरुलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । उनीहरुमाथि काठमाडौंबाट आएको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

कसरी सुरक्षीत रहने त ?

– एटिएम बुथबाट रकम निकाल्ने बेला वरपर कतै अस्वाभाविक उपकरणहरु जडान भए नभएको हेरेर मात्रै पैसा निकाल्नु पर्छ । एटिएम अनावश्यक उपकरण जोडिएको देखेमा पैसा ननिकाल्ने ।

– कुनै एटिएम बुथमा अस्वाभाविक उपकरण जडान भएको शंका लागेमा अर्को एटिएम बुथसँग तुलना गरेर हेर्ने ।

– एटिएम बुथभित्रको विशेषगरी कि प्याड नजिक प्वाल पारिएको जस्तो देखिएमा त्यो प्वालभित्र पिनहोल क्यामेरा जडान गरिएको हुनसक्छ । त्यस्तो देखिएमा पैसा ननिकाल्ने ।

– एटिएम कार्डको म्याग्नेटिक स्ट्रिपमा रहेको डाटालाई कपी गर्न जेन्युन कार्ड बाहेक अन्य कार्ड स्लट पनि जोडिएको हुन सक्छ । एक भन्दा धेरै कार्ड स्लट देखिएमा त्यस्तो एटिएम बुथबाट पैसा ननिकाल्ने ।

–तपार्इंको खातामा पैसा हुँदा हुँदै पनि पैसा आएन भने तपाईले नक्कली कार्ड स्लटमा आफ्नो कार्ड छिराउनु भएको हुनसक्छ । यदि आफ्नो कार्ड नक्कली कार्ड स्लटमा छिराएको थाहा पाउने बित्तिकै तत्काल अर्को एटिएम बुथमा गएर एटिएम पिन नम्बर परिवर्तन गर्नुपर्छ ।

– कि प्याड अस्वभाविक जस्तो लागेमा तथा मेशिनमा राम्रोसँग फिट नभएको जस्तो लागेमा त्यो एटिएम बुथबाट काम नगर्ने ।

– एटिएम बुथभित्र अस्वभाविक उकरणहरु जडान गरिएको देखेमा तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैंकमा खबर गर्ने ।

– पिन नम्बर हान्ने बेलामा कोही कसैले देखे नदेखेको यकिन गर्ने ।

– पिन नम्बर डायल गर्दा हातले छोपेर सुरक्षित तरिकाले डायल गर्ने ।

– बैंकबाट एसएमएस अलर्ट सेवा लिने । जसका कारण कसैले पैसा निकाल्ने बितिकै आफूलाई थाहा हुन्छ ।

– आफूले गर्दै नगरेको कारोबारका बारेमा मोबाइलमा एसएमएस अलर्ट तथा खाता विवरणका बारेमा जानकारी देखिएमा तत्काल सम्बन्धित बैंकमा खबर गर्ने ।– समय समयमा पनि नम्बर परिवर्तन गर्ने ।

– आफ्नो एटिएम सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने ।

– बैंकले एटिएम बुथभित्र तथा बाहिरको गतिविधि सुक्ष्म रुपमा सिसिटिभीमार्फत निगरानी गर्नुपर्छ । अस्वाभाविक तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ ।

– म्याग्नेटिक स्ट्रिप एटिएम कार्ड भन्दा तुलनात्मक रुपमा सुरक्षित भएकाले बैंकहरुले इएमभी चिप कार्ड प्रयोगमा ल्याउनुपर्छ ।