यसरी मनाईयो स्विटजरल्याण्डमा महिला दिबस (भिडियो हेर्नुहोस्)


स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विटजरल्याण्ड स्थित महिला फोरमले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै अन्तराष्ट्रिय महिला दिबस मनाएको छ। परिवर्तनका लागिसाहसी बनौँ भन्ने नाराका साथ गत साता आईतबार १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको हो।

स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले प्रमुख अतिथिको रुपमा बोल्दै महिला र पुरष हातेमालो बोलीमा मात्र ब्यबहारिक हुनु पर्नेमा जोड दिए। राजदूत धितालले भने,”भावानामा मात्र महिला पुरुष बराबर भन्छौ तर अब ब्यबहारमा पनि यसलाई लागु गर्न सक्नु पर्छ। यो हाम्रो मात्र समस्या हैन,सँसार भर नै यस्तै छ,त्यसैले परिबर्तनका लागि बोलीमा मात्र हैन ब्यबहारिक हुन पनि जरुरी छ।”

महिला फोरम स्विटजरल्याण्डकी संयोजक शुभ एल्मर लामाले फोरमले नेपालमा महिला फोरम स्विट्जरल्याण्डले पुर्र्याएको सहयोग बारे जानकारी गराईन्। फोरमले बिभिन्न कार्यक्रमहरु गर्दा स्विसबासी नेपाली समुदायले पुर्याएको योगदानको प्रंशसा गर्दै उनले यस्तै प्रकारको सहयोग निरन्तरताको अपेक्षा रहेको बताईन्।

स्विटजरल्याण्डकी विजया भट्टले दुर्गम जिल्लामा आङ खस्ने रोगबाट पिडित महिलाहरुको लागि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला फोरमले गरेका काम तथा योजनाहरुको बारेमा प्रष्ट पारिन्।

बैदेशिक रोजगारको क्रममा यूएईमा रहेका नेपाली महिला कामदारहरु माथि हुने गरेका दुर्ब्यबारका घटना बारे कल्पना राईले जानकारी गराईन्।महिला फोरम यूएईकी संयोजक राई स्विटजरल्याण्डको कार्यक्रममा सहभागी बनेकी हुन्। यस्तै दूतावासकी द्वितीय सचिव अन्तरा सिंहले महिला सशक्तिकरण र महिला शिक्षा बारे आफ्नो बिचार व्यक्त गरिन्।

कार्यक्रममा एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङ, पर्यटन दूत कमल भट्ट, स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल, नेपाली जन सम्पर्क समितिका अध्यक्ष रामकुमार महत्तो,स्विटजरल्याण्ड निबासी अग्रज नेपाली बिन्दु स्टाईनमान, फोरम सदस्य अमिना श्रेष्ठ लगायतले बोलेका थिए।

एनआरएनए स्विट्जरल्याण्डकी उपाध्यक्ष सिमा गौतम अर्यालले संचालन गरेको कार्यक्रममा जर्मनीबाट आएकी ज्ञाल्मी शेर्पा,देवांशी अर्याल लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राखे भने कार्यक्रममा स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधीहरु लगायत जर्मनी, अस्ट्रिया, फ्रान्सबाट समेत सहभागिता रहेको थियो।