युरोपबाट बिनिता भन्छिन्,”मेरो मन नेपाली छ”


बार्सिलोना/ नेपाल लोक दोहोरी गीत प्रतिष्ठान युरोप शाखाकी कोषाध्यक्ष बिनिता लामिछानेले राष्ट्रिय गीत सार्बजनिक गरेकी छन्। लोक दोहोरीको क्षेत्रमा पोख्त मानिएकी गायिका लामिछाने “मेरो मन नेपाली छ. मेरो तन नेपाली छ” बोलको राष्ट्रिय गीत पनि गायकी हुन्।

गोरखा जिल्ला सौरपानी स्थायी घर भई बिगत ६ बर्ष देखि युरोपियन मुलुक फिनल्याण्डमा बस्दै आएकी गायिका लामिछाने प्रबासमा रहे पछि देश प्रतिको माया र भाबना झनै गाढा र गहिरो हुने हुँदा यस्तो गीत ल्याएको बताईन्। उनले भनिन्,” विदेशमा रहँदा नेपाली भाषा,भेषभुषा,मन,तन,बोली वचनले झनै नेपाली पनलाई झल्काईरहेको महशुस छ, यही भावलाई नै गीतमा उतारेका हौ।”

गीतकार शिब सुबेदीको रचना रहेको उक्त गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा गायिका लामिछाने लगायतका कलाकारहरुले अभिनय गरेका छन्। भिडियोलाई करण चैसिरले  छायाङ्कन तथा बिष्णु शर्माको सम्पादन गरेका छन्।

यसअघि लोकदोहोरी गीतलाई समेत दर्शकहरु माँझ ल्याईसकेकी गायिका लामिछानेले आफ्नो यो राष्ट्रिय गीतलाई पनि धेरैले माया गर्ने बिश्वास ब्यक्त गर्छिन्। बिभिन्न मुलुकहरुमा हुने साँस्कृतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति राख्दै आएकी लामिछाने  युरोपको नेपाली समुदाय माँझ परिचित लोकदोहोरी गायिका हुन्।