स्पेनमा दूताबास खोल्ने सरकारी निर्णय तत्काल कार्यान्वयन गर्न पहल गर्छु :-काँग्रेस महामन्त्री


बार्सिलोना/ नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले स्पेनमा दूताबास खोल्ने सरकारी निर्णय तत्काल कार्यान्वयन गराउँन पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन्। नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनमा प्रमुख अतिथिको रुपमा बोल्दै कोईरालाले प्रतिबद्दता ब्यक्त गरेका हुन्।

स्पेनबासी नेपाली समुदायलाई सम्बोधन गर्दै कोईरालाले भने,”स्पेनमा दूताबास स्थापना गर्ने सरकारको निर्णय तत्काल कार्यान्वनका लागि छलफल गर्छु। स्पेन सरकारलाई मन्त्रालयले पत्राचार गरेको छ वा छैन नेपाल पुग्ने बित्तिकै बुझेर, यथाशिघ्र निर्णय कार्यान्वयनका लागि पहल गर्ने छु।”

एक दशक देखि स्पेनबासी नेपालीहरुले राख्दै आएको मागलाई सम्बोधन गर्दै केहि साता अघि मात्रै नेपाल सरकारले दूताबास खोल्ने निर्णय गरेको थियो। दूताबास खोल्ने निर्णय कार्यान्वयनका लागि ढिलो  हुन्छ कि भनेर आंशका ब्यक्त गरिएको बेला काँग्रेस महामन्त्री कोईरालाले प्रतिबद्दता ब्यक्त गर्दा स्पेनबासी नेपालीहरु खुशी भएका छन्।

कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले मतको सधै सम्मान गर्नु पर्ने बताए। अधिबेशनका लागि केन्द्रिय प्रतिनिधिका रुपमा आएका नेता पाण्डेले नयाँ नेतृत्व चयनका लागि स्पेनमा चुनाव भईरहँदा यस्तो बताएका हुन्। उनले भने,”चुनाव हो, हार-जित हुन्छ,तर पराजित भए पछि म मान्दिन,धाधली भयो भन्ने संस्कारको भने अन्त्य हुनु पर्छ। परिणाम जस्तोसुकै आए पनि स्विकार गर्नु पर्छ।”IMG_3293नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा पर्यटन दूत एकराज गिरी,गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,जनसम्पर्क समिति स्पेनका पुर्ब अध्यक्ष पुष्पराज भण्डारी,प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ,जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगाप्रसाद भुसाल लगायतले शुभकामाना ब्यक्त गरेका थिए।

समितिका उपाध्यक्ष ईन्द्रप्रसाद शर्माले स्वागत मन्तब्य राखे भने कार्यक्रमको संचालन प्रबक्ता हिरालाल सापकोटा ”डायमण्ड” ले  गरेका थिए। कार्यक्रममा बिभिन्न देशहरुमा रहेका जनसम्पर्क समितिहरुले पठाएको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो।

यसैबिच महामन्त्री डा.कोईराला युरोप भ्रमण सकेर आईतबार स्पेनबाट नै नेपाल प्रस्थान गरेका छन्। युरोप भ्रमणको क्रममा कोईरालाले यसअघि जनसम्पर्क समिति बेल्जियमको अधिबेशन तथा नेदरल्याण्ड र डेनमार्कको अन्तरक्रियामा पनि सहभागी बनेका थिए।