आज फागु पूर्णिमा, देश तथा बिदेशमा होलीको उल्लास


बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरु हेटौडाको आशा स्कुलमा होलि मनाउँदै,

काठमाडौं । आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । देश तथा तथा बिदेशमा रहेका नेपालीहरुले उल्लासपुर्बक रुपमा होली मनाईरहेका छन्। बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो ।

खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ ।आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।

यसैबीच फागु पूणिर्माको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरेका छन् । रंगहरुको फागु पूणिर्मा अर्थात् होलीका अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले सम्पूर्ण देशवासीमा सुख, शान्ति, सद्भाव भातृत्व र एकता वृद्धिका लागि शुभकामना व्यक्त गरका हुन् ।