परराष्ट्रमन्त्री जेनेभामा,स्विस विदेशमन्त्रीसँग भेटबार्ता


परराष्ट्रमन्त्री डा महत स्वीट्जरल्यान्डका विदेशमन्त्री दिदिर बर्कहल्टरसँग भेटवार्ता गर्दै

 जेनेभा/ परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले स्वीट्जरल्यान्डका विदेशमन्त्री दिदिर बर्कहल्टरबीच आज जेनेभामा भएको भेटवार्तामा आगामी दिनमा नेपालमा पूर्वाधार विकासको क्षेत्रमा स्वीस सहयोगलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा सहभागी हुन हाल जेनेभामा रहेका मन्त्री डा महतले भेटवार्तामा नेपालमा भूकम्पपछिको पुनःनिर्माणका साथै पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा स्वीस सहयोगको प्राथमिकता रहोस् भनी अनुरोध गरे।

सो अवसरमा स्वीस विदेशमन्त्री बर्कहल्टरले स्वीट्जरल्यान्डले नेपाललाई दिँदै आएको आर्थिकलगायत सहयोग आगामी दिनमा पनि निरन्तर रहने जानकारी दिँदै नेपालको आगामी निर्वाचन तथा भूकम्पपछिको पुनःनिर्माणको प्रक्रियामा के कसरी संलग्न हुन र सहयोग गर्न सकिन्छ भन्नेबारेमा सोच्ने बताएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री बर्कहल्टरले स्वीस सरकारले नेपालमा गर्ने सहयोगका क्षेत्रलाई आगामी दिनमा थप विस्तार र परिणाममुखी कसरी बनाउन सकिन्छ र यसबाट नेपाल अझ बढी लाभान्वित हुन सक्छ भन्ने बारेमा छलफल गर्ने जानकारी पनि दिए। मन्त्री डा महतले मङ्गलबार परिषद्को उक्त सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । रासस