स्पेनमा दूतावास खोल्न, मेरो बिरोध छैन :- परराष्ट्र सचिव बैरागी


बार्सिलोना / परराष्ट्रसचिव शंकरदास बैरागीले स्पेनमा दूताबास खोल्ने निर्णय प्रति आफ्नो बिरोध नरहेको बताएका छन्। केहि मिडियामा परराष्ट्रसचिवको भनाईलाई उदृत गर्दै प्रकाशित समाचारको खण्डन गर्दै उनले यस्तो बताएका हुन्। सरकारको निर्णयलाई आँफूले बिरोध गरेको भन्दै समाचार प्रकाशित भएपछि बैरागीले प्रतिक्रिया दिदै शत प्रतिशत गलत रहेको प्रष्ट पारेका छन्। दूताबास स्थापनाका लागि सचिव तथा परराष्ट्र अधिकारीहरुसँग छलफल नै नगरी मन्त्रीपरिषदबाट एक्कासी निर्णय भएको भन्ने समाचार बाहिरिए पछि बैरागीले यस्तो बताएका हुन्।

यसैबीच परराष्ट्र मन्त्रालयले समेत शनिबार एक बिज्ञप्ति प्रकाशित गरी राजदूत नियुक्तिका बिषयमा आएका समाचारहरु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। बिज्ञप्तिको भनिएको छ,”राजदूत नियुक्तिकै बिषयसँग जोडेर परराष्ट्र मन्त्री,मुख्य सचिव,परराष्ट्र सचिवले समेत भनेको भनी उदृत गर्दै आएका समाचार एबम् अनर्गल प्रचारप्रति मन्त्रालय दुख ब्यक्त गर्दछ।”

राजदूत नियुक्तिको प्रसङ्ग सँगै जोडेर मुलुकको कुटनीति नै कमजोर भएको जस्तो गरी प्रस्तुत गर्ने र व्यक्तिगत लान्छना लगाउँने जस्ता कार्य देशको चौथो अङ्गजस्तो जिम्मेबार पत्रकारिता जगतबाट सम्प्रेषित हुनु शोभनीय नहुने भन्दै कुटनीति जस्तो संबेदनशील बिषयमा सूचना सम्प्रेषण गर्दा ध्यान पुर्याईदिन मन्त्रालयले बिज्ञप्ति मार्फत अनुरोध गरेको छ।