नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै,पाका महिलालाई भने असहज (छापाबाट)


नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् । युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर पाका महिला भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् ।

‘यो धार्मिक स्थल भएकोले नांगै बस्नु उचित होइन । भगवानको दर्शन गर्न भनेर आएको मन्दिर परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुनेरहेछ । परम्परा भएपनि नागाबाबाले गुप्ताङ छोप्नुपर्छ ।’ रामकला तिवारीले भनिन् ।आजको नागरिक दैनिकमा खबर छ ।

‘जेठाजुलाई कपाल नदेखाउने प्रचलनमा हुर्किएकी हुँ बाबाको नांगो दृश्यले भगवानकै अपहेलना गरेजस्तो लाग्छ ।’ इन्द्रकुमारी खत्रीले बताइन् ।

कोही महिला भने नांगो दृश्यले खासै अपठ्यारो नपर्ने बताउँछन् । ‘आफ्नै मान्छे नांगो बसेको पो असहज हुनु चिन्दै नचिनेको व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन । नागाबाबा शिवरात्रीकै आकर्षक पनि हो ।’ राधिका लामिछानेले भनिन् । बाबाहरुको अभद्र व्यवहार भने उनलाई मन नपर्ने बताइन् ।

कतिपय बाबाले युवती देखेपछि पछ्याउने, आशिर्वाद दिएको भन्दै कुचाले टाउकोमा हिर्काउने, लिंगको खरानी लगाउन अनुरोध गर्ने बानीले भने धेरै महिला पीडित हुने गरेका छन् ।