महासंघ कास्कीलाई ‘ईन्द्रेणी महासंघ’ को रुपमा स्थापित गर्छु : अध्यक्ष दीपेन्द्र श्रेष्ठ


पोखरा -नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको सपथ एबं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । महासंघको १० औं अधिवेशन मार्फत निर्वाचित १९ सदस्यिय कार्यसमिति, ३१ जना केन्द्रिय पार्षद र ३८ जना प्रदेश पार्षदको सपथ गराइएको हो ।

नवनिर्वाचित कार्यसमिति एबं पार्षदहरुलाई निर्वाचन आयुक्त सुरेन्द्र थापामगर, निर्वाचन अधिकृत द्धय कोमलनाथ बराल र रोहितराज वास्तोलाले सपथ गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासंघलाई समावेशी ढंगले सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाए । ‘ सबैको अपेक्षा अनुसार महासंघलाई विधिपूर्वक, समावेशी ढंगले सबैलाई समेटेर अघि बढाउने प्रतिबद्धता जनाउछु’, उनले भने ‘एकलौटी ढंगले अघि बढ्न सक्दिन । ‘ त्यसका लागि पूर्ण रुपले सघाउन उनले सबैसँग आग्रह समेत गरे । पत्रकार महासंघ कास्कीलाई ‘ईन्द्रेणी महासंघ’ को रुपमा स्थापित गर्ने उनको कार्ययोजना छ ।

आफुलाई निर्वाचित गराउने प्रति आभार ब्यक्त गर्दै उनले तीन बर्षे कार्यकालभर जिम्मेवारीपूर्वक काम गर्ने अठोट ब्यक्त गरे । आफ्नो कार्यकालमा पत्रकार महासंघको भवनलाई पूर्वाधार सम्पन्न बनाई सबै पत्रकार नियमित पुग्ने थलोका रुपमा स्थापित गराउने उनले बताए । पत्रकार महासंघ कास्कीको भवनलाई मिडिया सेन्टरको रुपमा विकास गर्ने श्रेष्ठले बताएका छन् ।

अध्यक्ष श्रेष्ठले उपचार खर्चको अभावमा सहयोग संकलन गरिरहेका पत्रकार नारायण शाहीको सम्पूर्ण उपचार खर्चको ब्यवस्था महासंघ कास्कीले मिलाउने प्रतिबद्धता जनाए । साथै आगामी एक बर्ष भित्र कास्कीका सबै पत्रकारको विमा गराउने वाताबरण मिलाउने पनि उनले बताए । न्यूनतम पारिश्रमिकको लागि पहल गर्ने, सञ्चार संस्थाको अनुगमन गर्ने उनको कार्ययोजना छ ।

कार्यक्रममा बोल्दै अध्यक्षमा पराजित रमेश पौडेलले लोकतान्त्रीक पद्धतिमा हार जित सामान्य भएको भन्दै नयाँ कार्यसमितिलाई बधाई दिए । नयाँ कार्यसमितिले गर्ने हरेक निर्णयमा आफ्नो साथ रहने उनले प्रतिबद्धता जनाए ।

निवर्तमान अध्यक्ष रामकृष्ण ज्ञवालीले आफ्नो कार्यकालमा साथ दिने सबै प्रति आभार ब्यक्त गर्दै नयाँ कार्यसमितिलाई पनि सोहि अनुसार साथ र सहयोग रहने बताए । १० औं अधिवेशन मार्फत ब्यवसायीक टिम बनेको भन्दै उनले महासंघको गरिमाले नयाँ टिमले थप उचो पार्ने विश्वास ब्यक्त गरे

मानवअधिकारकर्मी टेकनाथ बराल, महासंघकी केन्द्रिय सदस्य सुष्मा पौडेल, निर्वाचन अधिकृत कोमलनाथ बराल, निर्वाचन आयुक्त सुरेन्द्र थापामगरले नवनिर्वाचित टिमले ईमान्दारितापूर्वक काम गर्ने विश्वास ब्यक्त गर्दै कार्यसफलताको शुभकामना दिए । नवनिर्वाचित टिमले पत्रकारको पेशागत हकहितको साथै राष्ट्रियता, गणतन्त्रका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको सुझाव छ ।
पत्रकार महासंघ कास्कीको फागुन ६ गते सम्पन्न अधिवेशन मार्फत दिपेन्द्र श्रेष्ठ अध्यक्षमा निर्वाचत भएका थिए । त्यस्तै खुल्ला उपाध्यक्षमा त्रिभुवन पौडेल, महिला उपाध्यक्ष बिमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सेना, सहसचिव दीननाथ बराल र दीपक परियार , कोषाध्यक्षमा विजयी सञ्जय मल्लले विहिवारनै पदभार ग्रहण गरेका छन् ।

यसैगरी सदस्यहरु सुरेन्द्र पौडेल, रञ्जन अधिकारी , एकराज गिरी , कृष्ण दवाडी , मनोज घर्तीमगर , कमल पौडेल ‘अथक’ , प्रकाश ढकाल , सुरज श्रेष्ठ, गीता रानामगर , उमा आलेमगर, जैनव खातुन र रेम बिकले पनि विहिवारनै सपथ ग्रहण गर्नुको साथै पदभार ग्रहण गरेका छन् ।

यसैविच सपथ ग्रहण एबं पदभार ग्रहण कार्यक्रममै तीन सदस्यिय सल्लाहकार समिति समेत घोषणा गरिएको छ । समितिमा निवर्तमान अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष बद्री विनोद प्रतिक र अध्यक्षमा पराजित रमेश पौडेल रहेका छन् ।