मेची महाकाली अभियानलाई भव्य बनाउने नेकपा एमाले प्रदेश नं ४ को निर्णय


पोखरा- नेकपा एमाले प्रदेश नं ४ संगठन कमिटीको तेस्रो पूर्ण बैठकले पार्टीले सञ्चालन गर्ने मेची महाकाली अभियानलाई भव्य बनाउने निर्णय गरेको छ । पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश संगठन कमिटीका संयोजक किरण गुरुङको अध्यक्षतामा बसेको बैठकले अभियान अन्तर्गत नवलपुरको कावासोतीमा फागुन २८ गते हुने सभालाई भव्य बनाउन १ हप्ता खट्ने निर्णय गरेको छ ।

प्रदेशमा रहेका पार्टीका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय तथा विभागका नेता, सांसद,पूर्व मन्त्री तथा सासदहरु, संगठन कमिटीका सदस्यहरु र जनसंगठनका पदाधिकारी सहितको ३० टोलीमा १ सय ७० जना नेता तथा कार्यकर्ता खट्ने कमिटी सचिव तथा प्रचार विभाग प्रमुख जगत विश्वकर्माले बताए ।

प्रदेश अन्तर्गतका जिल्ला कमिटीका अध्यक्षहरुले पार्टीले चलाएको संविधान कार्यान्वयनका लागि ४ महिने जनपरिचालन अभियानको बारेमा प्रतिवेदन पेश गरेका थिए । बैठकले जनपरिचालन अभियान प्रभावकारी रुपमा सञ्चालन भएको निष्कर्ष निकालेको छ । अभियानको क्रममा पार्टी प्रवेश तथा घरफर्क अभियान समेत व्यवस्थित भएको बैठकले ठहर गरेको छ ।

स्थानीय तहको निर्वाचन घोषणा भएकोमा स्वागत गर्दै बैठकले योजनावद्ध ढंगले निर्वाचनको तयारीमा लाग्न मातहतको पार्टी पंत्तिलाई आव्हन गरेको छ । बैठकले स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई मर्यादित र निष्पक्ष ढंगले सम्पन्न गर्न सरोकावालाई आग्रह गरेको छ ।

पार्टीका पोलिटब्युरो सदस्य तथा सहसंयोजक गणेश तिमिल्सिनाले बैठकले नवलपरासी जिल्ला कमिटीका तत्कालिन सचिव जीवन श्रेष्ठलाई नवलपुर संगठन कमिटीको सहसंयोजकको जिम्मेवारी दिएको बताए । बैठकले पर्वतको चित्रे गाविसमा सम्पन्न सचिवालयको दोस्रो बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको छ । पार्टीका केन्द्रीय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी लगायतका नेताले समसामयिक राजनीति तथा पार्टीले अवलम्बन गरेको कार्यदिशाबारे निर्देशनात्मक सम्बोधन गरेका थिए । नेकपा एमाले जिल्ला कमिटी कास्कीको बुधबार बसेको २३ औ पूर्ण बैठकले १९ वर्ष सम्म हुन नसकेको स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गर्ने घोषणा गरेकोमा त्यसको स्वागत गरेको छ ।

अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले सम्पूर्ण पार्टी कमिटीलाई निर्वाचनमा केन्द्रित हुन र नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न आव्हान गरेको प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिए । बैठकले तराई केन्द्रित मेची महाकाली अभियान अन्तर्गतको नवलपुरको कावासोतीमा हुने सभामा कास्कीबाट व्याापक नेता तथा कार्यकर्ता सहभागी गराउने निर्णय गरेको छ ।

फागुन १८ गते हुने स्ववियुको चुनावमा कास्कीका क्याम्पसहरुमा अनेरास्ववियुका उमेदवारलाई जिताउने निर्णय गरेको छ । बैठकमा स्थायी समिति सदस्य तथा प्रदेश संयोजक किरण गुरुङ, पोलिटब्युरो सदस्य तथा प्रदेश सहसयोजक गणेश तिमिल्सिना, पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव जगत विक, केन्द्रीय कमिटीका सदस्य तथा कास्की इञ्चार्ज मानबहादुर जिसी लगायतले बोलेका थिए ।