दुई लाख युरोपेली पर्यटक भित्राउँने लक्ष्य सहित युरोपभर कार्यक्रम हुँदै,


बार्सिलोना/ नेपाल पर्यटन बोर्डले “नेपाल भ्रमण वर्ष–युरोप २०१७” को अभियानमार्फत यस बर्ष युरोपबाट मात्रै २ लाख  पर्यटकहरु नेपाल पुर्याउँने लक्ष्य राखेको छ। सन् २०१६ मा एक लाख ५० हजार हाराहारीमा युरोपियन पर्यटक नेपाल भ्रमण गरेकोमा अब त्यसलाई बढाएर कम्तिमा २ लाख भित्राउँने बोर्डले लक्ष्य राखेको हो। नेपालमा भारतीय र चिनिया पर्यटक पछि सबै भन्दा बढि युरोपेली पर्यटकहरु नेपाल पुग्ने गरेका छन्।

युरोपका दर्जनौं मुलुकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा नेपाली संघसंस्थाहरूको सहकार्यमा विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन भइरहेको नेपालीनेपाली डटकमलाई बोर्डले ईमेल मार्फत जानकारी गराएको छ।  आयरल्याण्ड, स्वीट्जरल्याण्ड, रुस, नेदरल्याण्ड, बेल्जियम, स्पेन र डेनमार्कका कार्यक्रमहरूको तयारी भइरहेको पनि बोर्डले जनाएको छ।

अभियानलाई सफल बनाउन राजदूतावास,कन्सुलर कार्यलय,एनआरएन तथा बोर्डका सद्भावना दूतहरू (पर्यटन दूत)  सहकार्यमा प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ। यस अभियानको युरोपमा विधिवत् उद्घाटन आगामी मार्च १५ मा लण्डनमा गर्ने तयारी भएको छ ।

नेपाल भ्रमण वर्ष–युरोपका लागि बोर्डले फोटो प्रदर्शनी, पर्वतारोहण सम्बन्धी गोष्ठी, साथीलाई नेपाल पठाऊँ कार्यक्रम, नेपाली रेष्टुराँमार्फत प्रवद्र्धन, नेपाल डे, बुद्ध जयन्ती, सगरमाथा दिवसजस्ता कार्यक्रम, परिचयात्मक भ्रमण, विदेशस्थित नेपाली समुदायलाई पर्यटन प्रबद्र्धन तथा नेपालीहरूलाई गाडीमा नेपाल भ्रमण गरौं भन्ने सन्देश सहितका स्टिकरहरू टाँस्ने तथा त्यहाँ रहेका नेपालीहरूलाई अभिमुखिकरण गर्ने जस्ता कार्यक्रमहरू आयोजना गर्ने तयारी तिव्र पारेको छ ।

युरोपियन पर्यटकहरू नेपालमा मुख्य गरी पदयात्रामा जाने गरेका छन् । पदायात्रमा जाने १ लाख ५० हजार पर्यटकमध्ये ६० प्रतिशत युरोपियन हुने गरेका छन् । त्यस्तैगरी पुतली जहाज, प्याराग्लाइडिङ, जिप फ्लायर, बन्जी जम्प, कृत्रिम चट्टान आरोहणबाहेक क्यानोनिङ, ¥याफ्टिङ, कायकिङमा पनि युरोपियन पर्यटककै बढी आकर्षण रहेको छ ।

पर्यटन व्यवसायीहरूले सन् २०१७ मा युरोपियन पर्यटकको लागि काठमाडौं गेष्ट हाउस र हाउससँग सम्बन्धित एक दर्जन होटल तथा रेस्टुरेन्टमा युरोपियन पर्यटकको लागि २५ प्रतिशत छुट घोषणा गरिसकेको छ ।त्यस्तैगरी रुपाकोट रिसोर्टले पनि २० प्रतिशत छुट युरोपियन पर्यटकलाई दिने घोषणा गरिसकेको छ ।

त्यस्तै गरी हायात होटलले पनि सन् २०१७ मा युरोपबाट आउने सेलिब्रेटीहरूको लागि निःशुल्क रुम उपलब्ध गराउने घोषणा गरिसकेको छ ।