डेढ प्रतिशत थ्रेसहोल्ड रहनेगरी निर्वाचनसम्वन्धी विधेयकको मस्यौदा गृह मन्त्रालयमा (छापाबाट)


प्रतिनिधिसभामा डेढ प्रतिशत थ्रेसहोल्ड रहने गरी निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनसम्वन्धी विधेयकको मस्यौदा गृह मन्त्रालय पठाएको छ ।

कुल सदर मतको डेढ प्रतिशत मत प्राप्त गर्ने दलले मात्र प्रतिनिधिसभामा सिट पाउने प्रस्ताव आयोगको छ । आयोगले प्रदेशसभा निर्वाचन विधेयकमा पनि डेढ प्रतिशत नै थ्रेसहोल्डको प्रस्ताव गरेको छ । आयोगको प्रस्ताव अनुसार कानुन बनेमा कम्तिमा डेढ प्रतिशत मत ल्याउने दलले एक सिट पाउनेछन्। आयोगले गत बिहीबार विधेयक मन्त्रालय पठाउने निर्णय गरेको थियो। मन्त्रालयले परिमार्जनसहित विधेयक संसदमा दर्ता गर्न सक्नेछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

त्यस्तै विधेयकले संविधानको प्रावधान अनुसार अवदेखि प्रत्यक्ष निर्वाचनमा कुनै पनि व्यक्ति एक निर्वाचन क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्न पाउनेछ। यसअघि एक उम्मेदवारले दुई निर्वाचन क्षेत्रसम्म चुनाव लड्दै आएका थिए । दुवै क्षेत्रमा निर्वाचनमा विजयी हुँदा उपनिर्वाचन खर्चको भार बढेको भन्दै आयोगले यस्तो प्रस्ताव गरेको हो ।

आयोगको प्रस्ताव अनुसार कानुन बने अव निश्चित निर्वाचन क्षेत्रमा महिलामात्र उम्मेदवार हुनेछन् । निर्वाचन आयोगले चक्रीय रुपमा महिलामात्र उम्मेदवार हुनेगरी निर्वाचन क्षेत्र तोक्नेछ। निर्वाचन क्षेत्रहरु भने निर्वाचन आयोगले नै तोक्नेछ ।