पत्रकार महासंघको आसन्न महाधिवेशन पोखरामा गर्न कास्की शाखा अग्रसर


पोखरा-नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशन पोखरामै गर्ने गरी कास्की शाखा अग्रसर भएको छ । वि.सं. २०१२ मा स्थापना भएको महासंघको महाधिवेशन ६२ वर्ष बितिसक्दा पनि कास्कीले आयोजना गर्ने अवसर मिलेको छैन । यो वर्ष पोखरामै केन्द्रिय महाधिवेशन गर्ने गरी कास्की शाखाले कसरत सुरु गरेको हो । महासंघको २५ औं महाधिवेशन मे ३ मा हुँदैछ । नवनिर्वाचित अध्यक्ष दीपेन्द्र श्रेष्ठले यस्तो महत्वपूर्ण अवसरलाई यसपटक कास्कीले नै उपयोग गर्ने गरी अघि बढ्ने उद्घोष गरे । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्रप्रसाद भट्टले पनि महाधिवेशन पोखरामै हुनुपर्नेमा समर्थन जनाउँदै सबैको साथ सहयोगको आवश्यकता रहेको बताए ।

धादिङ जर्नालिस्ट सोसाईटी, पोखराले नेपाल पत्रकार महासंघ कास्कीको १० औं अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी, सदस्य तथा पार्सदहरुलाई शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष श्रेष्ठले यो नयाँ कार्यसमितिको पहिलो काम महाधिवेशन पोखरामै ल्याउनु रहेको उद्घोष गरे । यस अवसरमा देशविदेशका झण्डै १५ सय संख्यामा पत्रकार पोखरामा भेला हुने भएकाले पोखराको पर्यटन प्रवद्र्धनका लागि यो मौका लाभदायक रहने उनको भनाई थियो । आफ्नो तीन वर्षे कार्यकालमा सकेसम्म राम्रो गर्ने तर कुनै गलत काम नहुनेमा आश्वस्त पार्दै उनले हाम्रो महासंघ, राम्रो महासंघको अभियानमा युवा नेतृत्वको यो क्रियाशील पत्रकारहरुको टीम सदैव लागिरहने प्रतिबद्धता जनाए ।

महासंघले नै पत्रकारको हकहित, श्रमजीविको सवालहरुमा अभिभावकत्व ग्रहण गर्ने भएकाले आगामी दिनमा पत्रकारको लागि छुट्टै संस्था आवश्यक नपर्ने उनको कथन थियो । समाजका सल्लाहकार समेत रहेका कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य रुद्र भट्टले धादिङका दर्जन बढि पत्रकार आबद्ध यो संस्था महासंघ बाहिरको संगठन नभएको प्रष्ट पार्दै एक विचार, एक मुख लिएर कुनै बादमा नलागी सामूहिक रुपमा अघि बढ्न गठन भएको बताए । उनले धादिङलाई पोखरा र पोखरालाई धादिङ जोड्ने उद्देश्यका साथ अघि बढेको संस्था अब दुई ठाउँको प्रवद्र्धन एक अर्का माध्यम बनाउँदै गर्नुपर्ने उल्लेख गरे ।

महासंघ, कास्कीका निवर्तमान सल्लाहकार राजबहादुर गुरुङले पत्रकारको क्षमता अभिवृद्धि, श्रमजीविका समस्या समाधान, पारिश्रमिकका सवाल, क्वान्टिटी भन्दा क्वालिटी र आवाज विहनीको आवाजको माध्यम बन्न नयाँ नेतृत्वलाई सुझाव दिए । सल्लाहकार एवं धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडाले पोखरामा रहेर धादिङका पत्रकारले गरेको योगदान प्रशंसायोग्य रहेको भन्दै दुई संस्था एकआपसमा मिलेर अघि बढ्ने बताए । संस्थाका उपाध्यक्ष रमेश तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य तथा पार्सदहरुलाई ढाकाको खादा ओढाई सम्मान एवं बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार केदार धमलाले स्वागत तथा सचिव हरि पन्तले सञ्चालन गरेका थिए । महासंघ कास्कीको शुक्रबार अबेर सम्पन्न अधिवेशनले दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।उपाध्यक्षमा त्रिभुवन पौडेल, महिला उपाध्यक्षमा बिमला भण्डारी, सचिवमा रामप्रसाद तिमिल्सिना, खुल्ला सहसचिव दिननाथ बराल, समावेशी सहसचिवमा दीपक परियार, कोषाध्यक्षमा सञ्जय मल्ल निर्वाचित भए । यस्तै, सुरेन्द्र पौडेल, रञ्जन अधिकारी क्षेत्री, एकराज गिरी, कृष्ण दवाडी, मनोज घर्तीमगर, कमल पौडेल अथक, प्रकाश ढकाल र सुरज श्रेष्ठ सदस्यमा विजयी भए । दोस्रो सर्वाधिक मत ल्याउने अधिकारी समाजका अध्यक्ष पनि हुन् ।

फोनिज कास्कीको सम्मान

यसैगरी नेपाल पत्रकार महासंघ कास्कीको दशौ अधिवेशनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पनि बधाइ तथा सम्मान गरेको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिपेन्द्र श्रेष्ठ सहित पदाधिकारीहरुलाई खादा लगाएर सम्मान तथा बधाइ ज्ञापन गरेका थिए । सो समारोहमा वोल्दै तमु धि नेपालका अध्यक्ष कर्मा गुरुङले समावेसी टीमले समावेसी आवाजलाई बुलंद गर्नुपर्नेमा जोड दिइन ।

पत्रकारको हक हितका लागी र आवाज विहीनहरुलाई सञ्चार माध्यामबाट बुलंद गर्न नव निर्वाचित टिमले काम गर्नुपर्ने वताइन ।सो समारोहका वोल्दै फोनिज कास्कीका सल्लाहकार बालकृष्ण काउछाले नेपाल पत्रकार महासंघ कास्कीको टीममा आदिवासी जनजातिले नेतृत्व लिएकाले आदिवासी जनजातिको पक्षमा आवाज उठाउन कुनै पनि कसुर बांकी नराख्न आग्रह गरे ।
fonij-samman-fnj-kaski

नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र श्रेष्ठले नया नेतृत्वले समावेसी नेतृत्व हासिल गर्न सफल भएको वताउदै आफुले राम्रो महासंघ र हाम्रो महासंघको नारा लिएर अगाडी वढेकाले पत्रकारको हक हितका लागी पहलकदमी अगाडी वढाउने वताए ।आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिजका सचिव भुपाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।