प्रमुख प्रतिपक्ष एमालेद्धारा तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण (छापाबाट)


प्रमुख प्रतिपक्ष एमालेले आगामी मंसिरअगावै तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेको छ । स्थायी समितिको मंगलबार बसेको बैठकले स्थानीय तह, प्रदेश र संसद्सहित तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले त्यसका लािग आवश्यक कानुनी र राजनीतिक वातावरण मिलाउन पनि आग्रह गरेको छ । एमालेले तत्काल निर्वाचन मिति घोषणा नभए सरकारको औचित्य समाप्त हुने बताउँदै आएको छ ।

मेची–महाकाली अभियान अनुमोदन
बैठकले आगामी २१ फागुनदेखि पार्टीले आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानको कार्यक्रम अनुमोदन गरेको छ । कार्यक्रमको उद्घाटन झापाको काँकडभिट्टामा हुने तय भएको छ । अभियान सफल पार्न पार्टीका कार्यकर्ता, मातहत कमिटी, जनसंगठनहरू र आमसमुदायलाई अपिल पनि गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

स्ववियु निर्वाचनको वातावरण बनाउन माग
१४ फागुनमा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध पुर्‍याउने गरी भएका तालाबन्दीप्रति एमाले बैठकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘मुलुकमा कुनै पनि खालका निर्वाचन हुन नदिने षड्यन्त्रस्वरूप यस्ता क्रियाकलाप भएको ठहर गर्दै पार्टीले ती निर्वाचनका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नसमेत ध्यानाकर्षण गराएको छ,’ बैठकपछि केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने ।

पोलिटब्युरो बैठकमा चार एजेन्डा
स्थायी समितिले बुधबारबाट सुरु हुने पोलिटब्युरो बैठकका लागि चारवटा एजेन्डा तय गरेको छ । बैठकमा अध्यक्षको प्रतिवेदन, समसामयिक राजनीतिक परिस्थिति, मेची–महाकाली अभियान र विविधसहित चारवटा एजेन्डामा छलफल हुने सचिव ज्ञवालीले बताए ।