विवादपछि प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड (छापाबाट)


आइजिपी बढुवा विवादपछि सरकारले प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड दिएको छ । प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेललाई सरकारले निमित्त प्रहरी महनिरीक्षकको जिम्मेवारी दिएको हो ।

सोमबार बसेको मन्त्रिपरिष्दको बैठकले प्रहरी नियमावली २०७१ संशोधन गर्दै एआइजी पोखरेललाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको हो । यसअघिको नियमावलीमा प्राविधिकलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिन नमिल्ने भएकाले सरकारले नियमावली संशोधन गरी आइजिपी नियुक्तिको टुंगो नलागेसम्मका लागि डा. पोखरेललाई दिने निर्णय गरेको हो । नियमावलीको दफा ४१ को प्रावधानमा प्राविधिकलाई पनि निमित्तको जिम्मेवारी दिन सकिने भन्ने शब्द थपेर डा. पोखरेललाई निमित्तको जिम्मेवारी दिइएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

जब कमान्डविहीन बन्यो प्रहरी
दिनभरिका अनेक अनुमानपछि साँझ करिब सात बजे बसेको बैठकले डा. पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । त्यसको करिब एक घन्टाअघि आइजिपी उपेन्द्रकान्त अर्यालले प्रहरी मुख्यालय छाडेका थिए ।

चार घन्टासम्म प्रहरी मुख्यालयमा अन्योल
सोमबार दिउसो साढे तीन बजे प्रहरी महानिरीक्षक अर्यालको बिदाईको कार्यक्रम राखिएको थियो । तर,त्यो कार्यक्रम साँझ साढे ६ बजे मात्र सुरु भयो । कसलाई निमित्त दिने भन्ने विवादमा बिदाई कार्यक्रम ढिला सुरु भएको हो । अध्यारो हुँदासम्म अर्याल सरकारको निर्णयको पखाईमा थिए । तर, चार साँझसम्म पनि निर्णय नभएपछि उनले मुख्यालय छाडेका थिए । अर्यालसहित सोमबारदेखि अवकाश पाएका एआईजीहरु डा.पोखरेलले नै फुलमाला लगाएर बिदाई गरेका थिए । सरकारले आइतबार जय बहादुर चन्दलाई आईजीपीमा बढुवा गरेको थियो । तर, आइतबार नै सर्वाेच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरीम आदेश जारी गरेपछि प्रहरीमा कमाण्डको समस्या उत्पन्न भएको हो ।

म सफल भए : अर्याल
बिदाई कार्यक्रममा अर्यालले आफु आईजीपीका रुपमा सफल भएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले आफु संगठनको अनुहार भएको र संगठनका अन्य अंगहरुले राम्रो काम गर्दा आफु सफल भएको बताए । तर, पछिल्लो समय प्रहरीमा देखिएको हस्तक्षेप्रति ब्यंग्य गर्दे उनले भने, ‘आफ्नै भविष्यको बारेमा अन्योलग्रस्त प्रहरीले कसरी मुस्कानसहितको सेवा दिन सक्ला ? सम्बन्धितको चेत कहिले खुल्ला ?’

प्रहरीको सबैभन्दा ठुलो पूँजी नागरिकको बिश्वास भएको बताउदै उनले भने, ‘प्रहरी पनि यही समाजको ऐना हो, आकृती नै धमिलो छ भने छाया पनि धमिलो देखिन्छ ।’ प्रहरीमा तीन वर्षको कालखण्डमा कर्तव्यनिष्ठ भएर काम गरेको र यो अवधि आफ््नो आफ्नो मानसपटलमा सधैं जिवन्त रहेने उनले बताए ।

तर प्रहरीमा बढेको राजनीतिक चलखेलप्रति उनले असन्तुष्टि व्यक्त गरे । संगठनका सदस्यहरुबीच भातृत्वभाव र एकता बलियो भए मात्र नेपाल प्रहरी बलियो हुने उनको भनाई छ । ‘केही दोष हाम्रो पनि छ । हाम्रो जनशक्तिको समस्या हामीले समाधान नगरेमा उसले अनेक बाटो रोज्नु स्वभाविक हो,’ उनले भने,‘तर, केबल व्यक्तिगत स्वार्थ र लोभका लागि संगठनलाई अनिर्णयको बन्दी बनाउने सोचले संगठनलाई कदापी भलो गर्देन ।’

उता सोमबार नै सशस्त्र प्रहरीका महानिरीक्षक दुर्ज कुमार राईले पनि अवकाश पाएका छन् । सशस्त्र प्रहरी मुख्यालयमा नवनियुक्त आईजीपी सिंहबहादुर श्रेष्ठले राईको बिदाई गरेका छन् ।