अबको १० वर्षमा कुनैपनि नेपाली रोजगारीका लागि विदेशमा जानुपर्दैन : उद्योग मन्त्री जोशी


पोखरा- आर्थिक समृद्धिका लागि औद्योगिक विकास र उद्यमशीलतामा जोड दिनुपर्ने बताइएको छ । उद्यमशीलता अभिबृद्धि गरी उद्यम क्षेत्रमा लाग्न युवालाई प्रोत्साहन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल सरकार उद्योग मन्त्रालयको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडिइआई)को सहकार्यमा शनिबार पोखरामा आयोजित नेपालमा ‘स्टार्टअप इकोसिस्टम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आर्थिक समृद्धिको एजेण्डा सबैको साझा हुनुपर्ने बताए ।

रचनात्मक तथा सिर्जनात्मक काम गर्न चाहने युवालाई प्रोत्साहन गर्ने लक्ष्यसहित सरकारले स्टार्टअफ इकोसिस्टम कार्यक्रम ल्याउने तयारी गरेको मन्त्री जोशीले बताए । उक्त कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँ बिनियोजनसमेत गरिसकेको छ । कार्यक्रम लागु गर्ने तयारी भइरहेकाले देशका विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्नु पूर्व अन्तरक्रिया तथा छलफल भइरहेको मन्त्री जोशीले जानकारी दिए ।

उद्योग मन्त्री नविन्द्रराज जोशीले युवालाई उद्यम क्षेत्रमा लाग्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले स्टार्टअफ इकोसिस्टम कार्यक्रम लागु गर्न अध्ययन भइरहेको बताए । स्टार्टअप इकोसिस्टम कार्यक्रम लागु गरेर नेपाली युवालाई उद्यम क्षेत्रमा लाग्न प्रोत्साहन गरिने उनको भनाइ छ । बन्द अवस्थामा रहेका पुराना उद्योगलाई सञ्चालनमा ल्याउने र नयाँ उद्योगमा लगानी गर्न प्रोत्साहन गर्ने सरकारले नीति लिएको उनले जानकारी दिए ।

‘संसारको गतिसँगसँगै हिड्न सक्ने तागत आवश्यक छ,’ उनले भने, ‘चुनौतिको सामना गर्ने र केही गरौं भन्ने भावना युवा जगतमा छ । त्यसलाई प्रयोगमा ल्याउन आवश्यक छ ।’ नेपालमा प्रशस्त स्रोत र साधन रहेको बताउँदै मन्त्री जोशीले त्यसलाई प्रयोगमा ल्याउन सरकार सक्रिय रहेको बताए । ‘म उद्यमी बन्छु भन्ने विचार नै उद्यमशीलता हो,’ उनले भने ।
संविधान आइसकेकाले अबको मूल दायित्व नेपालको समृद्धि र आर्थिक एजेण्डा रहेको उनको भनाइ छ । उद्यम क्षेत्रमा युवाको भूमिका महत्वपूर्ण र प्रभावकारी रहेको बताउँदै मन्त्री जोशीले नेपाली उत्पादनको प्रयोगमा जोड दिनुपर्ने बताए । ‘नेपालमा उद्योगको सम्भावना र भविष्य राम्रो छ,’ उनले भने, ‘अबको १० वर्षमा कुनैपनि नेपाली रोजगारीका लागि विदेशमा जानुपर्ने अवस्था रहँदैन ।’ व्यापारी वा उद्योगीको लगानी र सम्पत्तीको सुरक्षा सरकारले गर्ने उनले बताए ।
‘आर्थिक समृद्धिका लागि उद्यम क्षेत्रमा युवालाई प्रोत्साहन’

‘आर्थिक समृद्धिका लागि उद्यम क्षेत्रमा युवालाई प्रोत्साहन’

राज्य मन्त्री कञ्चन बाडे श्रेष्ठले देशमा उद्यम बढाउन सरकारले विभिन्न कार्यक्रम गर्ने तयारी स्वरुप स्टार्टअफ कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । उद्योग बढाउने र नचलेका उद्योगहरु सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिदै उनले उद्योग सञ्चालनका लागि भएका कानुनी अप्ठ्याराहरुलाई संशोधन गरिने बताए । नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य तथा मञ्च पोखराका पूर्व अध्यक्ष प्रकाशदेव पालिखेको संयोजकत्वमा कार्यक्रम भएको हो । उद्यम क्षेत्रमा लाग्न युवालाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

इन्टरप्रेनर फर नेपालका को–फाउण्डर आसुतोष तिवारीले जसले नयाँ काम गर्न चाहन्छ उहीनै उद्यमी भएको धारणा राखे । बृहत इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष ओमराज भण्डारीले उद्यमशीलताको विकासका लागि स्टार्टअप कार्यक्रम प्रभावकारी हुने बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले युवा उद्यमशीलताको क्षेत्रमा विभिन्न प्रोजेक्टहरु आइरहेपनि दीर्घकालीन रुपमा कार्यान्वयन हुन नसकेको धारणा राखे । ‘युवा उद्यमलाई प्रोत्साहन गर्न प्रभावकारी कार्यक्रम आवश्यक छ,’ उनले भने । आइडिइआइका निमित्त कार्यकारी निर्देशक श्रीरञ्जन वस्तीले उद्यमीले आफ्नो मात्र हित नहेरी अरुलाई पनि उद्यममा लाग्न प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखे, पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका सदस्यहरु गोमा ढकाल, डिबी भुजेल, युवा उद्यमी बिक्रम कर्माचार्य, गणेश थापा लगायतले उद्यमशीलताको विकासमा सरकारले विशेष चासो दिनुपर्ने धारणा राखेका थिए ।

नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले उद्योगी, व्यवसायी, व्यवसाय क्षेत्रमा लाग्न चाहने युवा, युवासँग सम्बन्धित सामाजिक संस्थाका प्रतिनिधि तथा उद्यम गर्न चाहने विभिन्न कलेजका विद्यार्थीको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको जानकारी दिए ।