जय नेपाल नगरेको झोकमा प्रहरी प्रमुखबाट प्रहरी हवल्दार कुटिए (छापाबाट)


जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए ।

सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले कुटपिट गरेको हवल्दार डिसीले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

ट्राफिकको युनिफर्ममै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखी आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको डिसीले जानकारी दिए ।

‘म र एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौं । एक छेउमा जरिवाना काटिरहेको थिएँ । त्यही बेला प्रहरी प्रमुख र डिएसपीसाप आउनु भएछ । काममा भएकोले देखिँन । अर्को भाइ सडकमै थियो उसले देखेछ । मैले नदेखेकोले जय नेपाल गर्न सकिनँ । पछि त्यही निहँु बनाएर मलाई जिल्ला प्रहरीमा बोलाई कुटपिट गरे’ उनले भने ।

डिएसपी राठौरको कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ। डिसीले डिएसपीको निर्देशनमा हतकडी लगाएर नै अस्पताल लगेर उपचार गराइएको बताए। डिसीले आफूमाथि डिएसपी राठौरले गरेको कुटपिटबारे राप्ती अञ्चल प्रहरी प्रमुखलाई जानकारी गराएको बताए।

तर, डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर समान्य सोधपुछमात्रै गरेको बताए।