आदिवासी जनजातिका अधिकार सुरक्षित छन् :पूर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्द


पोखरा- पूर्व प्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्रवहादुर चन्दले नेपालमा रहेका सबै आदिवासी जनजातिका अधिकार सुरक्षित रहेको बताएका छन् । नेता चन्दले नेपाल आमाका सन्तान भएर बस्न सवै जातजातिलाई अनुरोध गर्दैै नेपालको विकासमा लाग्नु पर्ने समय आएको बताए । पुन समाज नेपालद्वारा प्रकाशित ‘पहिचान र आदिवासी जनजातिको सर्वाङ्गिण विकास’ नामक पुस्तक विमोचन गर्दै पूर्व प्रम चन्दले चन्द्रसिङ कुलुङ लेखक भएता पनि मानव शास्त्री र आदिवासीका मात्र नभै सबै जातिको साझा प्रकाशन भएको बताए ।
पुस्तक विमोचन गर्दै चन्दले आदिवासी जनजातिले आन्दोलन देखि आएरपनि सुविधा र आफ्नो अधिकार स्थापित हुन नसकेको बताउँदै राष्ट्र र अन्तर्राष्ट्रिय स्तरबाट हर किसिमको सहयोग हुनेमा आफू विश्वस्त भएको जनाए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. वाबुराम भट्टराईले नेपालको संविधानलाई संशोधन गरी आदिवासी जनजातिका हक र अधिकारको सुरक्षित गर्दै वल्ल निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका थिए । उनले पुस्तक विमोचन गर्दै मानव जातिको एकै सन्तति भएरपनि हिजोका शासक वर्गले बुद्धिमता नपु¥याएको कारण आजको समस्या आएको उल्लेख गरे ।
राजनीतिक, सामाजिक र आर्थिक हैसियतमा जनजातीको पहुँच पु¥याउन आफ्नो पार्टी सदैव लाग्ने उल्लेख गर्दै ठूला राजनीतिक दलहरुको झगडाले देशमा असन्तुष्टि बढेको बताए । बहु जातीय नेपाललाई राजनीतिक अदुरदर्शिताका कारण मधेशी, थारु, अल्पसंख्यक जस्ता जातजातीमा विभाजन आएको बताए ।
पुस्तक विमोचन कार्यक्रममा पुन समाज नेपालका संरक्षक एवं पूर्व मन्त्री उत्तमबहामदुर पुनले पुन जातिको पहिचान र अधिकारका लागि आफू सदैव लडिरहने बताउँदै राज्यमा पहुँच दिलाएरै छाड्ने ठोकुवा गरे ।
पुन समाजका अध्यक्ष प्रताप पुनको अध्यक्षता, तिलकप्रसाद पुनको सञ्चालन र पुन समाजको नेता रवीन्द्र पुनको स्वागतमा भएको कार्यक्रममा पूर्व मन्त्री उत्तम पुनले राज्यमा देखिएको जातीय असमानतालाई हटाउन पुन समाज सक्षम भएको उल्लेख गर्दै सूचिकृतमा नभका जातीलाई सुचिकृत गराई छाड्ने दावी गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डमबहादुर पुन, एमालेका नेता मनबहादुर गुरुङ, राप्रपाका नेता जयलाल पुन, नयाँ शक्तिका जीत बहादुर तमु लगायतले आदिवासी जनजातिको हक अधिकार सुरक्षित नभएसम्म नेपालको विकास नहुने बताएका थिए ।