चार सय ५८ पदका लागि ७४ हजार एक सय ३९ जनाको आवेदन (छापाबाट)


लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम्म दरखास्त दिन सकिने व्यवस्था छ ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले दोब्बर दस्तुरको समय सकिँदा दरखास्त दिनेको संख्या ८० हजार पुग्ने अनुमान गरिएको बताए । आयोगको विश्वसनीयता, सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण दरखास्त दिनेको संख्या अत्यधिक रहेको कोइरालाले बताए ।

‘सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण लोकसेवा आयोगले मागेका पदमा प्रतिस्पर्धा गर्न आवेदन दिनेको संख्या वर्षेनी बढ्ने गरेको छ,’ उनले भने,‘ आयोगको विश्वसनीयता र निष्पक्ष परीक्षा प्रणालीका कारण पनि आवेदन दिनेको संख्या बढेको हो । निजामती सेवालाई उत्कृष्ट बनाउन आयोग प्रतिबद्ध छ । आयोगले राजनीतिक वा अन्य कुनै प्रकारको दबाबबाट स्वतन्त्र भएर समान अवसर प्रत्याभूति गर्दै आइरहेको छ ।’

मध्यमाञ्चलबाट धेरै दरखास्त

लोकसेवा आयोगले अनलाइनमार्फत दरखास्त लिँदै आएको छ । आयोगका अनुसार मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी ३२ हजार ६ सय ९० दरखास्त परेका छन् । मध्यमाञ्चलमा नायब सुब्बा तहका एक सय ९८ पदमा आवेदन मागिएको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाबाट नासुकै ९१ पदका लागि १४ हजार ६ सय ५४ को दरखास्त परेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ६९ पदका लागि ११ हजार चार सय सातजना, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ५७ पदका लागि आठ हजार ६ सय ५० जना र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ४३ पदका लागि ६ हजार सात सय ३८ जनाले दरखास्त पेस गरेका छन् ।

आयोगले हालै थप गरेका तीन परीक्षा केन्द्रमध्ये लहानमा चार हजार चार सय ६३ जनाले दरखास्त दिएका छन् । वीरगन्ज केन्द्रमा दुई हजार नौ सय ३१ र डोल्पा केन्द्रमा ७३ जनाको दरखास्त परेको छ ।

लोकसेवा आयोगले पाँचवटै क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र केन्द्रबाट परीक्षा सञ्चालन गर्ने गरेको छ । खुला तथा आन्तरिक परीक्षा प्रथम चरणको फागुनमा र दोस्रो चरणको वैशाखमा हुने आयोगले जनाएको छ ।

९ सय ८० शाखा अधिकृतमा ५३ हजारको दरखास्त परेको थियो

लोकसेवा आयोगले यसअघि मागेको शाखा अधिकृतको प्राविधिक र अप्राविधिक गरी नौ सय ८० पदमा ५३ हजार चार सय १६ जनाको दरखास्त परेको थियो । आयोगले कात्तिक पहिलो साता शाखा अधिकृतको प्राविधिकतर्फ चार सय ७२ पदमा विज्ञापन गरेको थियो । सो विज्ञापनमा ३१ हजार ५ सय १७ जनाले दरखास्त पेस गरेका थिए । मंसिरको पहिलो बुधबार शाखा अधिकृतको अप्राविधिकतर्फ ५ सय ८ पदमा दरखास्त आह्वान गरिएको थियो । सो आह्वानअनुसार २१ हजार आठ सय ९९ जनाले दरखास्त पेस गरेका थिए ।