स्वतन्त्र पत्रकार संघ कास्कीको पदस्थापन


पोखरा । स्वतन्त्र पत्रकार संघ कास्की शाखाको तेस्रो अधिबेशन तथा छैटौ साधारण सभावाट निर्वाचित कार्यसमितिको विहीवार एक कार्यक्रमका वीच पदस्थापन सम्पन्न भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय प्रशासन कार्यालयका प्रमुख खगराज बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमको उद्घाटन गर्दै पत्रकारहरु दलगत भएपनि पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा जोड दिएका थिए । पत्रकारहरुलाई दलगत रुपमा कलम नचलाउन आग्रह गर्दै, पत्रकारहरुले राजनैतिक समाचार मात्र नभै किसानका समाचारहरुलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका रामराज लामिछाने, नेकपा एमालेका तेजनारायण अधिकारी, राप्रपाका जयलाल पुन, नागरिक समाजका संयोजक रामबहादुर पौडेललगायतले पत्रकारहरु सधै स्वतन्त्र रुपमा काम गर्नुपर्ने बताएका थिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, स्वतन्त्र पत्रकार संघ नेपालका सल्लाहाकार नारायण कार्की, केन्द्रिय महासचिव कमल पौडेल अथक, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर नेपालका अध्यक्ष विभु भुषाल, संञ्चारिका समुह पश्चिमाञ्चलकी संयोजक जमुना शर्मा वर्षालगायतले बोलेका थिए ।

सोही अवसरमा निवर्तमान उपाध्यक्ष पदमराज घिमिरेले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष कृष्ण थापालाई म्याईन्यूट हस्तान्तरण गरेका थिए ।

स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष कृष्ण रानाभाटले स्वागत र संचालन सचिव असफल गौतमले गरेका थिए ।